नेकपा माओवादी केन्द्रको बकैया गाउँपालिका सम्मेलनमा सहभागीहरु ।

हेटौंडामा तीर्थ, कैलाशमा बालकुमार, बकैयामा भक्त, मनहरीमा रामप्रसाद, राक्सिराङमा हस्तबहादुर

हेटौंडाः नेकपा माओवादी केन्द्रको पालिकास्तरीय अधिवेशनअन्तर्गत मकवानपुरका ५ पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । पालिकास्तरीय अधिवेशनअन्तर्गत हेटौंडामा तीर्थ बहादुर थापा, कैलाश गाउँपालिकामा बालकुमार मल्ल, बकैया गाउँपालिकामा भक्त खत्री, मनहरी गाउँपालिकामा रामप्रसाद कालाखेती र राक्सिराङ गाउँपालिकामा हस्तबहादुर स्याङ्तानको अध्यक्षतामा सर्वसम्मत पालिकास्तरीय कमिटी चयन भएको छ ।

सोमबार र मंगलबार सम्पन्न पालिकास्तरीय अधिवेशनबाट निर्वाचित सदस्यहरुमध्येबाट पदाधिकारी चयन गर्ने क्रममा सर्वसम्मत अध्यक्ष चयन गरेको हो । मंगलबार हेटौंडा–४, गर्दोईस्थित पार्टी कार्यालयमा नगर कमिटीका नवनिर्वाचित सदस्यहरुमध्येबाट तीर्थबहादुर थापा मगरलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने निर्णय भएको हो । यस्तै महिला उपाध्यक्षमा सोनी गुरुङ, कोषाध्यक्षमा तारा मुक्तान र सहसचिवमा राजकुमार बानियाँ सर्वसम्मत निर्वाचित हुनुभएको छ । सोमबार भएको नगर अधिवेशनबाट ७२ सदस्यीय नगर कमिटी चयन भएको थियो । नगर कमिटीका सदस्यहरुमध्येबाट पदाधिकारी चयन गर्ने कार्य जारी छ । नगर कमिटी सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको नवनिर्वाचित अध्यक्ष तीर्थबहादुर थापा मगरले जानकारी दिनुभएको छ ।

१ जना सचिव पदका लागि ५ जना र २ जना उपाध्यक्षका लागि ५ जना आकांक्षी भएसँगै सर्वसम्मत चयनको प्रक्रिया पूरा हुन नसकेको जानकारी दिनुहुँदै अध्यक्ष थापाले सर्वसम्मत चयनको प्रयास जारी राख्ने बताउनुभएको छ । नगर कमिटीमा ९ जना सदस्य मनोनित गरी ८१ सदस्यीय नगर कमिटी गठन हुने व्यवस्था पार्टीको विधानमा रहेको अध्यक्ष थापाले बताउनुभएको छ । हेटौंडा उपमहानगरसँगै सोमबार मकवानपुरको कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा पनि अधिवेशन भएको थियो ।
कैलाश गाउँपालिका कमिटीमा निर्वाचित ५५ जना सदस्यहरुमध्येबाट सोमबार नै बालकुमार मल्ललाई अध्यक्ष चयन गरेको छ भने उपाध्यक्षमा ठाकुर सिं थिङ, लालसिं गुरुङ र डबल तामाङ, सचिवमा कमल अर्याल, सहसचिवमा रबिन्द्र थिङ र सुजाता फुयाल, कोषाध्यक्षमा सुस्मिता दोङ चयन हुनुभएको छ । मकवानपुरगढी गाउँपालिकाले भने पदाधिकारी चयनको कार्य मंसिर १७ गते गर्ने जनाएको छ ।

मंगलबार नै भएको पालिकास्तरीय अधिवेशनबाट राक्सिराङ गाउँपालिकाको अध्यक्षमा हस्तबहादुर मोक्तान, उपाध्यक्ष इन्द्रबहादुर थिङ, इमाननोयल स्याङ्तान, चन्द्रसिं प्रजा, सचिवमा चन्द्रमान प्रजा, सहसचिवमा सागर घलान, कोषाध्यक्ष पूर्णिमाया दोङ चयन हुनुभएको नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिंह पाख्रिन (पृथक) ले जानकारी दिनुभएको छ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य तथा बागमती प्रदेश सभा सदस्य ओम ग्लानको प्रमुख आतिथ्यमा भएको भेलामा नेकपा माओवादी केन्द्र राक्सिराङ गाउँपालिका इन्चार्ज वनस्तम थिङ, नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समिति सदस्य हविल चेपाङ र खुसीलाल चेपाङको पनि उपस्थिति रहेको थियो ।

यता बकैया गाउँपालिकाको अध्यक्षमा भक्त खत्री चयन हुनुभएको छ । नेकपा माओवादी केन्द्र बकैया गाउँपालिका ईन्चार्ज लक्ष्मी पाख्रिनको अध्यक्षतामा भएको अधिवेशनले उपाध्यक्षमा मोतीलाल सिंगार, चन्द्र न्यासूर, अशोक जिम्बा, सचिव बिमल नेपाल, कोषाध्यक्षमा ठूलीमाया मोक्तान, सहसचिव विष्णु नेगी, सदस्यमा राजेन्द्र घिमिरे, रामकुमार राई, नारायण माझी लगायत चयन हुनुभएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक प्रेमबहादुर पुलामी, केन्द्रीय स्कूलिङ विभाग सदस्य विजय गौतम, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य तथा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, जिल्ला सचिवालय सदस्य लक्ष्मी माझी, सन्तवीर लोलगायतको आतिथ्य रहेको थियो ।

यस्तै मनहरी गाउँपालिकाको अध्यक्षमा रामप्रसाद कालाखेती चयन हुनुभएको छ । उपाध्यक्षमा हीरालाल स्याङ्तान र गोविन्द घलान, सचिवमा सन्जीव पाठक, सहसचिवमा शोभा दोङ, चन्द्रकला खनाल र तेजराज पाण्डे र कोषाध्यक्ष ध्रुव खड्का सर्वसम्मत चयन हुनुभएको छ । मनहरी गाउँपालिकाको रजैयामा भएको भेलामा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य वीरबहादुर घलान (ज्वाला) को प्रमुख आतिथ्यता रहेको थियो ।

मकवानपुर जिल्लाका १० पालिका मध्ये बागमती र ईन्द्रसरोवर गाउँपालिकामा आज बुधबार नेकपा माओवादी केन्द्रको पालिकास्तरीय अधिवेशन हुँदैछ भने भीमफेदी गाउँपालिकाको अधिवेशन मंसिर १८ गतेका लागि तय गरिएको प्रचार विभाग प्रमुख पाख्रिनले जानकारी दिनुभएको छ ।