हेटौंडाः जेसीआई हेटौंडा लेडीले ‘जेसीज गाउँ’ घोषणा गरेको छ । जेसीआई हेटौंडा लेडीको सप्ताहव्यापी कार्यक्रमको चौथौ दिन हेटौंडा–१ को बाँझोडाँडालाई संरक्षित जेसीज गाउँ घोषणा गरिएको हो । न्यून आयस्तर भएका ३१ घरपरिवारको बसोबास रहेको गाउँलाई जेसीज गाउँ घोषणा गरिएको हो ।
गाउँगाउँमा जेसीज अभियानअन्तर्गत् जेसीज सप्ताहको अवसरमा जेसीज गाउँ घोषणा गरिएको हो । जेसीज गाउँ घोषणा गरिएको बाँझोडाँडामा बसोबास गर्दै आएका ३१ घरपरिवारलाई आगामी सात वर्षसम्म गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा सहयोग गरी संरक्षण गरिने जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो ।
हेटौडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता तथा जेसीआई हेटौंडा लेडीकी अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा जेसीज गाउँ घोषणा भएको हो । कार्यक्रममा हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपाने, जेसीज गाउँ घोषणा अभियानका राष्ट्रिय संयोजक एवम् जेसीआई हेटौंडा लेडीकी पूर्वअध्यक्ष रश्मी बस्नेत, निवर्तमान अध्यक्ष सुशीला पौडेल, जनप्रतिनिधि सोनाम सिं ब्लोनलगायतको उपस्थिति थियो ।
जेसीआई हेटौंडा लेडीकी उपाध्यक्ष सुनिता राई बस्नेतको संयोजनमा जेसीज गाउँ घोषणा कार्यक्रम भएको हो । देशका विभिन्न गाउँलाई संरक्षित जेसीज गाउँ घोषणा गरी त्यहाँका बासिन्दाको गाँस, बास, कपासलगायत शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सुविधाको सुनिश्चिता गर्ने उद्देश्यले नेपाल जेसीजले आफ्ना शाखाहरुमार्फत् जेसीज गाउँ घोषणा अभियान सञ्चालन गरिरहेको छ । मकवानपुरमा रहेका जेसीजका ५ वटा शाखाहरुमध्ये जेसीआई हेटौंडा लेडीले नेपाल जेसीजको अभियानलाई सफल पार्न जेसीज गाउँ घोषणा गरेको हो । संरक्षित जेसीज गाउँ घोषणासँगै बाँझोडाँडाका ५० जना विद्यार्थीलाई २० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्रीसमेत वितरण गरिएको छ ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् चौथो दिनको दोस्रो कार्यक्रमको रुपमा जेसीआई हेटौडा लेडीले एकदिने उद्घोषण तालिम पनि सम्पन्न गरेको छ । जेसीआई सिनेटर दीपकराज मिश्रले प्रशिक्षण दिनुभएको तालिममा ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।