हेटौंडाः मकवानपुरमा कोभिड–१९ विरुद्धको खोप पर्याप्त मात्रामा रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । बिहीबार हेटौंडामा बार्षिक कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले पर्याप्त मात्रामा खोप उपलब्ध भए पनि खोप लगाउन आउनेकोे सङ्ख्या भने निक्कै कम देखिएको बताउनुभएको छ ।
सबै गाउँपालिकामा खोपको व्यवस्था पु¥याए पनि खोप लगाउने सङ्ख्यामा कमी आएको उहाँले बताउनुभयो । भीमफेदी, राक्सिराङ र बकैया गाउँपालिकामा खोप लगाउनेको सङ्ख्यामा कमी देखिएको घिमिरेले बताउनुभयो । स्वास्थ्य कार्यालय मकवानपुरले चालु आर्थिक बर्षमा विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ । बाल स्वास्थ्य कार्यक्रम अन्तर्गत पोषण कार्यक्रम वृद्धि अनुगमन, पोषण सम्बन्धी परामर्श, नियमित खोप, बालभिटा, जुकाको औषधी वितरण गर्ने परिवार स्वास्थ्य सेवा अन्तर्गत सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सम्बन्धी सेवाका स्थायी साधन र विभिन्न आवश्यक सामग्री स्थानीय तहसँग समन्वय गरेर सेवा उपलब्ध गराइरहेको छ ।
यस्तै सामुदायिक स्वास्थ्य सेवा अन्तर्गत गाउँघर क्लिनिक, महिला स्वास्थ्य सेवा अन्तर्गत मकवानपुर जिल्लामा ४६ प्रतिशतले मात्र स्वास्थ्य चौकीमा सुत्केरी गराउने गरेको र मकवानपुरमा अझै पनि १६ प्रतिशतले २० बर्ष भन्दा कम उमेरमा बिहे गर्ने गरेको तथ्याङ्क रहेको घिमिरेले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय मकवानपुरले राष्ट्रिय भिटामिन ए कार्यक्रम, गर्भ जाँच गर्ने जस्ता सेवा जनचेतनाका कार्यक्रम गरिरहेको छ ।
क्षयरोग, एचआईभि, मानसिक रोग, कुष्ट रोग, नसर्ने रोग हाल जिल्लामा १ सय १४ जना टिभिका बिरामी रहेको उहाँले जानकारी दिनुभयो । कोभिड –१९ विरुद्ध कार्यक्रम अन्तर्गत कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तथा हेटौंडा अस्पतालसँगको सहकार्यलाई नियमित रुपमा सञ्चालन गरिरहेको र कोरोना विरुद्ध लगाइएको खोपको विवरण सङ्कलन गरी सार्वजनिक गर्ने, कोभिड संक्रमितको सहज उपचारका लागि १७ वटा एम्बुलेन्समा जिपिएस जडान गरी सञ्चालन, कोभिड विरुद्धको खोपलाई प्राथमिकतामा राखी लगाउँदै आइरहेको घिमिरेले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।