मंसिर महिना दलहरुको महाधिवेशनको महिना बनेको छ । साना ठूला आधा दर्जन दलहरुको महाधिवेशन यही महिना हुँदैछ । केही दलको महाधिवेशन भइसकेको छ भने केहीको हुने क्रममा छ । नेकपा एमालेको महाधिवेशन चितवनमा हुँदैछ । नेपाली कम्युनिष्ट आन्दोलनको ठूलो दल एमालेले दशौं महाधिवेशनलाई एकताको महाधिवेशन भन्दै आएको छ । तर सबैभन्दा ठूलो र केन्द्रदेखि सबै प्रदेशमा सरकार बनाएको दल विभाजनपछि सत्ताबाट बाहिर पुगेको छ । यस्तो अवस्थामा हुँदै गरेको महाधिवेशन कार्यकर्तालाई सान्त्वना दिनमात्र एकताको भन्दै आएको छ । विभाजनपछि हुन लागेको महाधिवेशन कसरी एकता भन्नेहरुको जमात ठूलो छ । एकता हैन एकल नेतृत्व स्थापितको महाधिवेशन बन्नेमा शंका छैन ।
एमालेको महाधिवेशन एक व्यक्तिमा केन्द्रित हुनेभएको छ । केन्द्रीय सदस्य वा पदाधिकारीमा उम्मेदवारीका लागि पनि अध्यक्षको मुख ताक्नुपर्ने निरिह अवस्थामा नेता कार्यकर्ता पुगेका छन् । अध्यक्षमा केपी ओलीविरुद्धमा भीम रावलले दिएको उम्मेदवारीप्रति पनि आशंका छ । रावलले उम्मेदवारी दर्ता गर्र्लान् वा गर्न दिइएला र जस्ता आशंका छन् । लोकतान्त्रिक अभ्यास गर्दै आएको एमालेभित्र यतिबेला किन यस्तो आशंका बढ्दै गयो भन्ने विश्लेषणको विषय हो । अन्य पदमा पनि लुकीछिपीमात्र उम्मेदवारी घोषणा हुने गरेका छन् । अध्यक्ष ओलीले के भन्ने हुन् वा उनको ईच्छाविपरित पो आफ्नो उम्मेदवारी हुने हो कि जस्ता संशययुक्त नजरबाट नेता कार्यकर्ताहरु महाधिवेशनमा जाँदै गरेको अवस्था छ ।
महाधिवेशन उद्घाटनमा ठूलो संख्यामा कार्यकर्ता उतार्ने भनिएको छ । तर कार्यकर्तामा कुनै उत्साह देखिएको छैन । अधिवेशनको रौनकता निर्वाचन पनि हो । तर निर्वाचनका लागि डराउनुपर्ने वा मतदान हुने नहुने टुंगो नभएको र उम्मेदवारी दिनका लागि पनि मन खुम्च्याइएको अवस्थामा कार्यकर्ताका लागि महाधिवेशन कुम्भमेला बन्न सक्छ त ? वा सहमतिका लागि नेतृत्वको आदेश शिरोपर गरेर फर्कनुपर्ने हो ? अझै टुंगो भएको छैन । पार्टी विभाजनले कार्यकर्तामा देखिएको निराशाबाट उनीहरुलाई मुक्ति दिन महाधिवेशन सफल हुन पर्नेछ । अधिवेशनबाट फर्कंदा कार्यकर्ताले विभाजनको पीडाबोध बिर्सन सक्ने अवस्था बन्छ वा बन्दैन भन्ने कुराले महाधिवेशनको सफलताको मापन हुनेछ । महाधिवेशनमा विपक्षीमाथि कटाक्षमात्रै भन्दा पार्टी सुदृढीकरणका लागि प्रजातान्त्रिक मूल्य मान्यताअनुसार नेतृत्व चयन हुन सक्नुपर्दछ ।
पार्टी विभाजनको पीडामा रहेको अवस्थामा सर्वसम्मत् नेतृत्व चयनबाट आफू निकै शक्तिशाली भएको देखाउने अध्यक्ष ओलीको चाहनामा भीम रावलले पानी छम्किदिएपछि अब आफूले कार्यकर्तामाझबाटै सक्षम भएको प्रमाणित गर्नुपर्ने पक्षमा ओली पुगेका छन् । अध्यक्षमै चुनाव हुने भए पनि अन्य पदका लागि पनि उम्मेदवारी दर्ताका लागि नेताहरुलाई बाटो खुलेको अवस्था छ । यही तथ्यलाई विश्लेषण गर्दै अध्यक्ष ओलीले आफू सहमतिका लागि कसैलाई पनि दवाव दिने पक्षमा नभएको बताएर निर्वाचनमा जान तयार भएको सन्देश दिएका छन् । निर्वाचन वा सहमति जे भए पनि, बहुपदीय प्रणाली कायम रहे पनि नेकपा एमालेभित्र सामूहिक नेतृत्वको सम्भावनाभन्दा एकल नेतृत्वको अवस्था छ । लोकतान्त्रिक मूल्य मान्यताअनुसार महाधिवेशन नयाँ ऊर्जाका साथ भनिएजस्तै एकताको महाधिवशेन बन्न सकोस्, शुभकामना ।