हेटौंडाः संघीय सरकारका स्वास्थ्य मन्त्री विरोध खतिवडाले छिट्टै नै १२ बर्षदेखि १८ बर्ष उमेर समूहका सवै व्यक्तिलाई खोप लगाइने बताउनुभएको छ । आइतबार बिहान हेटौंडामा पत्रकारसँग कुरा गर्नुहुँदै मन्त्री खतिवडाले सम्झौताअनुसार कोरोना विरुद्धको खोप आइरहेकोले खोपको समस्या नरहने बताउनुभएको छ । उहाँले कोरोना संक्रमणको जोखिम कायम रहेकोले सबैलाई खोप लगाउन अनुरोध गर्नुभएको छ ।
समाजवादी प्रेस संगठन मकवानपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री खतिवडाले तोकिएको खोप केन्द्रसम्म आउन नसक्ने करिब २० प्रतिशत जनसङ्ख्याले पनि अनिवार्य खोप लगाउन भन्ने उद्देश्यले आफू लागीपरेको बताउनुभयो । ३ करोड कोरोना विरुद्धको खोप पाइपलाइनमा रहेकाले नेपालमा अब खोपको अभाव नहुने खतिवडाले बताउनुभयो ।
फाइजर खोप ज्येष्ठ नागरिक, बालबालिका र विभिन्न समस्या देखिएका नागरिकलाई प्राथमिकतामा राखी खोप लगाइने उहाँले बताउनुभयो कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य शिव कुमार रिजालको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, सचिव विष्णुप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।