हेटौंडाः राक्सिराङ गाउँपालिकाका बालविकास सहजकर्ता (शिक्षक) तथा विद्यालयका कर्मचारीले अझै न्यूनतम पारिश्रमिक पाउन सकेका छैनन् । सरकारले आर्थिक वर्ष २०७८/०८९ को बजेट वक्तव्यमा विद्यालयका बालविकास शिक्षक तथा कर्मचारीहरुलाई न्यूनतम १५ हजार रुपैयाँ पारिश्रमिक दिने घोषणा गरेको थियो ।

बालविकास शिक्षक तथा विद्यालय कर्मचारीले यसअघि पारिश्रमिकबापत ज्यादै न्यून रकम पाउँदै आएका थिए । कतिपय स्थानीय तहले सरकारले दिने भनी घोषणा गरेको न्यूनतम पारिश्रमिक उपलब्ध गराएको भए पनि मकवानपुरको राक्सिराङ गाउँपालिकाले पारिश्रमिक उपलब्ध गराउन चासो नदिएको भन्दै नेपाल शिक्षक संघ राक्सिराङ गाउँपालिका कार्यसमितिले विज्ञप्ति निकाल्दै आग्रह गरेको छ ।

जिल्लाका अन्य स्थानीय तहले न्यूनतम पारिश्रमिक लागू गरिसकेको भए पनि राक्सिराङ गाउँपालिकाले अहिलेसम्म रकम निकासा नगर्नु दुःखद् विषय भएको नेपाल शिक्षक संघ राक्सिराङका अध्यक्ष राजु रेग्मीले जानकारी दिनुभयो । गाउँपालिकाको पदाधिकारी तथा राजनीतिक नेतृत्वलाई तत्काल न्यूनतम पारिश्रमिक उपलब्ध गराउन आवश्यक प्रबन्ध मिलाउन संघले आग्रह गरेको उहाँले बताउनुभयो । यस विषयमा तत्काल आवश्यक सम्बोधन नभएमा सशक्त आन्दोलनका कार्यक्रम गरिने अध्यक्ष रेग्मीले बताउनुभयो ।