हेटौंडाः पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै शनिबार अनेरास्ववियु मकवानपुरले मसाल जुलुस प्रदर्शन गरेको छ । नेकपा एमाले निकट अनेरास्ववियुले आयोजनामा एमाले मकवानपुरको पार्टी कार्यालयदेखि बुद्धचोकसम्म मसाल जुलुस प्रदर्शन गरेको हो ।
अनेरास्ववियुले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ताको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेको हो । हालै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरिएको थियो । यस्तै, खाना पकाउने एलपी ग्यासमा पनि प्रतिसिलिण्डर ७५ रुपैयाँ मूल्य वृद्धि गरिएको थियो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ५ सय ७५ रुपैयाँ पुगेको छ । यस्तै पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।
अनेरास्ववियु मकवानपुर अध्यक्ष विशाल पौडेलले सरकारलाई चेतावनी दिँदै मूल्यवृद्धि फिर्ता नभए अनेरास्ववियु थप संघर्षमा जाने उद्घोष गर्नुभयो । आज आइतबार मकवानपुर जिल्लाका क्याम्पसहरुमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गर्नसमेत आम विधार्थी नेता कर्यकर्तालाई अनेरास्ववियुले निर्देशन गरेको छ । मसाल जुलुस अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य सन्तोष पौडेलको प्रमुख आतिथ्यमा भएको हो ।