सांकेतिक तस्विर ।

हेटौंडाः बैंकबाट धितो लिने प्रयोजनका लागि घरजग्गा मूल्यांकनको कार्य गर्ने व्यवसायीलाई पक्राउ गरेको विषयलाई लिएर नेपाल भ्यालुयर्स एसोसिएसन मकवानपुरले ध्यानाकर्षण भएको जनाएको छ । नेपाल भ्यालुयर्स एसोसिएसन बीरगन्जका सदस्य समेत रहेका मूल्यांकनकर्ता इन्जिनियर राजेश कुमार चौरसियालाई पक्राउ गरेको विषयलाई लिएर नेपाल भ्यालुयर्स एसोसिएसन मकवानपुरले ध्यानाकर्षण भएको जनाएको हो ।

शनिबार नेपाल भ्यालुयर्स एसोसिएसन मकवानपुरका सचिव अनिल बनियाँले विज्ञप्ति जारी गर्दै बैंकले उपलब्ध गराएको कागजातका आधारमा मूल्यांकनकर्ताले मूल्यांकन गरेको साथै मूल्यांकन गरिएको धितोबन्धकी ऋण तिरेर फुकुवा समेत भइसकेको सन्दर्भमा मूल्यांकनकर्तालाई पक्राउ गर्नु बद्नियतपूर्ण भएको पनि दावी गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले चौरसियालाई गत सोमबार पक्राउ गरेको हो । बैंकले उपलब्ध गराएको कागजपत्रको शुद्धता परीक्षण गर्ने कार्य मूल्यांकनकर्ताको जिम्मेवारीमा नरहनेतर्फ ध्यान नदिई अनुसन्धानकर्ताबाट पूर्वाग्रहीपूर्ण तरिकाबाट पक्राउ गरिएको जीकिर गर्दै चौरसियालाई यथाशिघ्र रिहाई गर्न माग गरिएको छ । इन्जिनियर चौरसियालाई पक्राउ गरेको विरोध गर्दै सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बागमती प्रदेश समितिले पनि यथाशिघ्र चौरसियाको रिहाईको माग गरेको छ ।