देशको सबैभन्दा ठूलो शक्ति नेकपा एमाले केन्द्रदेखि प्रदेश सरकारमा विपक्षीको हैसियतमा झरेको छ । चार बर्षदेखि सत्ता सञ्चालन गरिरहेको एमाले आफ्नै कारणले विपक्षमा पुगेको हो । एमाले सत्तामा रहुञ्जेल विपक्षीमा को हो भन्ने अवस्था थियो । सत्ताका लागि कांग्रेस निकै गुनिलो बनेको थियो । विपक्षीको कुनै बाधाबिरोध नहुँदासमेत कम्युनिष्ट सरकारले भनेजस्तो किन काम गर्न सकेन भनेर इतिहासमा मूल्यांकन हुने नै छ । शान्त विपक्षी पाउँदा पनि एमालेको सरकारले जनचाहनाअनुसारको काम गर्न नसकेकै हो । यही कारण एमाले यतिबेला संघदेखि सबै प्रदेशमा सत्ताबाट बाहिरिन बाध्य भएको छ । स्थायित्वका लागि भन्दै कम्युनिष्ट पार्टीलाई जनताले मत दिएका थिए, तर त्यसको उचित सम्मान र प्रयोग गर्न नसक्दा विपक्षमा पुगेको छ ।
पछिल्लो आम निर्वाचनपछि लामो समय एमाले सत्तामा र कांग्रेस विपक्षमा बस्दै आए । तर परिस्थिति यस्तो भयो कि, बाँकी एक बर्षका लागि कांग्रेस सत्तामा र एमाले प्रतिपक्षमा पुगेको छ । यो अवधिको सबैभन्दा भाग्यमानी नेकपा माओवादी केन्द्र बन्न पुग्यो । दुबै दलको नेतृत्वमा सरकार बन्दा माओवादी केन्द्र सत्तामा सहभागी हुँदै आएको छ । जबरजस्तीले कांग्रेस सत्तामा छ भने एमाले विपक्षमा छ । यो जबरजस्तीको खेल २०७४ को आम निर्वाचनको म्याण्डेटविपरितको अवस्था हो । संख्याकै कारण दलहरु कहिले सत्ता त कहिले विपक्षमा पुग्ने गर्दछन् । एमाले अध्यक्ष केपी ओलीले आफ्नो दललाई एक बनाइराख्न नसक्नु तथा एकलौटी सत्ता सञ्चालनको अभ्यासले गर्दा आजको परिस्थिति निर्माण भएको हो ।
प्रदेशहरुमा पनि गठनबन्धको सरकार बनेका छन् । प्रदेश १ मा पनि गठबन्धनले नै सरकार बनाउने पक्का भएको छ । जुन उत्साहका साथ गठबन्धन सरकारमा गएको छ, त्यही ऊर्जाका साथ सत्तालाई जनहितमा उपयोग गर्ने ईच्छाशक्ति आवश्यक छ । गठबन्धनमा रहेका दलहरु कुनै नयाँ शक्ति हैनन् । हिजो धेरै पटक सत्तामा पुगेर पनि केही गर्न नसकेका व्यक्तिहरुले नै सत्ता सञ्चालन गरिरहेका छन् । तर सधैं काम गर्ने शैली उस्तै हुनुपर्दछ भन्ने छैन । गठबन्धनले साझा अवधारणाका साथ काम गरेर सत्ता परिवर्तनको औचित्य पुष्टि गर्नु पर्नेछ । विगतको सरकारप्रति लगाएको आरोपप्रति सजग हुँदै असल कामको सुरुवात गरिदिएमात्र पनि पर्याप्त हुनेछ ।
जिम्मेवार ठाउँमा नपुग्दासम्म जनपक्षीय हुन सहज छ । तर सत्तामा पुगेर राज्यको साधन श्रोत परिचालन गर्नुपर्दा अप्ठेरो हुने गरेको विगतलाई सत्ता गठनबन्धनले स्मरण गर्नुपर्दछ । महंगीले आकाश छोएको छ, प्राकृतिक प्रकोपबाट किसानहरु आहत भएका छन्, कोरोना महामारीबाट समाज तंग्रीन सकेकै छैन । विपक्षमा देशकै ठूलो शक्ति छ । यस्तो अवस्थामा सत्तापक्षले फुकीफुकी कदम चाल्नु पर्नेछ । तर जनहितका लागि गर्ने कुनै पनि काममा कसैसँग डराउने अवस्था हुनु हुँदैन । तर सत्ता गठबन्धनको सुरुवातले ठूलो अपेक्षा राख्नुपर्ने अवस्था छैन । गठबन्धन सरकारले असल नगरे पनि खराब नगरिदिएमात्र पनि जनताका लागि अहिले पर्याप्त हुने देखिन्छ ।