गुगल तस्बिर ।

हेटौंडाः कोरोना महामारीका कारण विगत २ वर्षदेखि नियमितरुपमा विद्यालय सञ्चालन हुन सकेको छैन । विद्यालय सञ्चालन राम्रोसँग हुन नसकेपछि सिकाई उपलब्धिमा करिब ३० प्रतिशत खस्किएको शिक्षा विकास महाशाखा हेटौंडाका प्रमुख गंगाधर रिमालले बताउनुभयो ।

कोरोना महामारीभन्दा सामान्य स्थितिमा विद्यार्थीको सिकाई उपलब्धि उच्चदर रहेको उहाँले बताउनुभयो । सिकाई उपलब्धिमा ८० प्रतिशतले वृद्धि भइरहँदा अचानक महामारीका कारण खस्किएको रिमालले जानकारी दिनुभयो ।

विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु भएपछि विद्यालयले पढाइ तिव्र गतिमा बढाएको हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका प्रमुख रिमालले जानकारी दिनुभयो । यसकारण शिक्षण सिकाई सहजीकरणमा समेत सहज भएको उहाँले बताउनुभयो ।

विद्यालय सञ्चालन हुन नसक्दा शिक्षामा अन्यौलता रहनुका साथै शिक्षण सिकाई नै ठप्प रहेको भन्दै अझै १० प्रतिशत विद्यार्थी विद्यालय बाहिर रहनु चिन्ताको विषय भएको रिमालले बताउनुभयो । केही विद्यार्थी अन्यन्त्र विद्यालय जाँदा केही भने विद्यालय बाहिर नै रहेको उहाँले दावी गर्नुभयो । विद्यालय भौतिक उपस्थितिमा सञ्चालन भइरहँदामात्र विद्यार्थीले सिक्ने अवसर सहजरुपमा पाउने उहाँले बताउनुभयो । महामारीका कारण अनलाइन कक्षा सञ्चालन गरिँदा विद्यार्थीमा खोजेर पढ्ने बानीको विकास भएको उहाँले बताउनुभयो ।

भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएसँगै प्रोजेक्टर, मल्टीमिडिया, गृहकार्य र विषयगत परीक्षा मासिकरुपमा सञ्चालन गरी शिक्षण सिकाईलाई निरन्तरता दिएको रिमालले बताउनुभयो । शिक्षण सिकाई सहजीकरणमा सहयोग पुग्ने भएकाले यस्तै सामान्य अवस्था भएमा छठपछि विद्यालय पूर्णरुपमा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । ५ घण्टामात्र पठनपाठन भइरहेकाले सिक्ने वातावरण कम हुने भएकाले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले स्वीकृति दिएमा पूर्णरुपमा विद्यालय सञ्चालनको तयारी गरिएको रिमालले बताउनुभयो । यसले विगत झैं शिक्षण सिकाईमा सहयोग पुग्ने भएकाले सिकाई उपलब्धिमा बढोत्तरी हुने उहाँले बताउनुभयो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले जिल्लामा स्थानीय तहको स्वीकृतिमा विद्यालयमा पठनपाठन सुचारु गर्नसक्ने निर्णय गरेपश्चात् जिल्लामा विद्यालय सञ्चालनमा आएका थिए । वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण—२०७७ अनुसार कार्यढाँचा पालना गरी पठनपाठन भइरहेको महाशाखा प्रमुख रिमालले बताउनुभयो । विद्यालयका शिक्षक–कर्मचारी, शिक्षक अभिभावक संघ, व्यवस्थापन समितिलगायतको बैठकबाट कार्यढाँचा पास गरी उपमहानगरपालिकामा पेश गरेर अनुमति प्राप्त भएपछि भौतिक उपस्थितिमा विद्यालय खुलेका थिए ।

कमाने एकेडेमीका प्रधानाध्यापक प्रतिभा डंगोलले महामारीले विद्यार्थी विद्यालयको सम्पर्कबाहिर हुँदा सामाजिक सञ्जालमा गेममा व्यस्त तथा नकारात्मक क्रियाकलापप्रति आकर्षित भएको तथ्यहरुले पुष्टि गरेको बताउनुभएको थियो । मनोचिकित्साको विस्तार गरी बालबालिकाको अवस्था र मनोविज्ञानबारे पहिचान गर्न उहाँले उपमहानगरलाई आग्रह गर्नुभएको थियो ।