हेटौंडाः अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा सहभागी हेटौंडा उपमहानगरपालिका महिला फुटबल टिमको खेलाडी छनोट गरिएको छ । आइतबार हेटौंडाको फरेष्ट्री मैदानमा भएको छनोट कार्यक्रमबाट १८ जना खेलाडी छनोट गरिएको हो ।
जारी प्रतियोगितामा हेटौंडाको खेल मिति नजिकिँदै गर्दा खेल हुनुभन्दा ३ दिन अघि मात्र खेलाडी छनोट गरिएको छ । छनोट कार्यक्रममा सहभागी ३१ जना खेलाडीहरुबाट १८ जना खेलाडी छनोट गरिएको प्रशिक्षक भीम लामाले जानकारी दिनुभयो ।
छनोटमा सहभागी खेलाडीहरुलाई मैदानमा खेल खेलाएर उनीहरुको खेलको आधारमा छनोट गरिएको उहाँले बताउनुभयो । छनोट कार्यक्रममा प्रशिक्षक भीम लामासँगै प्रशिक्षकहरु विजयलाल श्रेष्ठ, ज्ञानबहादुर क्षेत्री, उज्वल लामा र सुशीला अर्यालले खेलाडीहरुको खेलको मूल्यांकन गर्दै खेलाडी छनोट गर्नुभएको थियो ।
प्रतियोगिताका लागि हेटौंडाको टिममा गोलरक्षकको जिम्मेवारी सोनु मैनाली र समिता स्याङ्तानले सम्हाल्ने भएकी छिन् । यस्तै डिफेन्डरमा एलिना खड्ग मगर, दिक्षा मोक्तान, मनिषामाया जिम्बा, सावित्री प्रजा र अञ्जु गोले छनोट भएकी छिन् । मिडफिल्डमा बिना डिम्डुङ, सावित्री श्रेष्ठ, बसन्तीमाया दोङ, प्रतिमा लामिछाने, पूजा मोक्तान, लक्ष्मी गोले र रीना पाख्रिन रहेकी छिन् भने फरवार्डको जिम्मा सञ्जीता बोम्जन, धनमाया थिङ र सुजीता बोम्जनले पाएकी छिन् । छनोटका लागि हेटौंडासहित मनहरी गाउँपालिका, बागमती गाउँपालिका, चितवन, बारा र पर्सा जिल्लाबाट समेत खेलाडी उपस्थित भएका थिए ।
छनोट कार्यक्रममा बागमती प्रदेश फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले खेलाडी छनोट गर्ने समय थोरै भएपनि प्रशिक्षकहरुले राम्रो खेल्ने खेलाडीहरुलाई मात्र छनोट गर्ने भएकाले कोही खेलाडीले म पहिला पनि खेलेको हुँ र यो वर्ष पनि पर्नैपर्छ भन्ने धारणा राख्न नहुने बताउनुभएको थियो । उहाँले यस पटक छनोट हुन नसकेका खेलाडीहरुले निरन्तर मिहिनेत गरेर अर्को पटक पुनः प्रयास गर्न पनि खेलाडीहरुलाई आग्रह गर्नुभयो । साथै छनोट भएका खेलाडीहरुलाई बधाई दिँदै खोलमा जीत हार जे भएपनि हेटौंडाको टिम भनेर सबैले सम्झिरहन सक्नेगरी खेल प्रदर्शनका साथै अनुशासनमा रहन पनि निर्देशन दिनुभएको छ ।
प्रतियोगिताका लागि हेटौंडाको टिम तयार गरी सहभागिता जनाउन मकवानपुर फुटबल संघले जिम्मेवारी लिँदै टिम तयार गरेको हो । यही कार्तिक ४ गते बिहीबारबाट नै प्रतियोगिता सुरु भएपनि हेटौंडाको पहिलो खेल मिति भने कार्तिक १० गते रहेको छ । प्रतियोगितामा सहभागी ३१ टिमलाई एन्फाले १० समूहमा राख्दै प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइरहेको छ । एन्फाले हाललाई पहिलो चरण अर्थात् समूह चरणको खेल तालिकामात्र सार्वजनिक गरेको छ ।
पहिलो चरणको खेल कार्तिक ४ गतेदेखि दैनिक ३ वटा खेल भई कार्तिक १५ गतेसम्म हुनेछ । जसमा हेटौंडा समूह एफमा रहेको छ भने उक्त समूहमा हेटौंडासँगै गैंडाकोट नगरपालिका र तुलसीपुर नगरपालिका रहेका छन् । हेटौंडाले कार्तिक १० गते बिहान ९ बजे हुने खेलमा गैंडाकोट नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ भने १२ गते तुलसीपुरसँग खेल्ने तालिका रहेको छ ।