हेटौंडाः दशैंको समयमा आएको वर्षाका कारण बागमती प्रदेशका ७ वटा जिल्लामा २ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको धानबालीलाई क्षति पुगेको प्रारम्भीक तथ्यांक सार्वजनिक भएको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रायले वर्षात्ले धानबालीमा क्षतिको भएसँगै क्षतिको विवरण संकलन गर्न सुरु गरेको थियो । दशैंलगत्तै कार्यालय खुलेसँगै बागमती प्रदेशको मकवानपुर, चितवन, सिन्धुली, रामेछाप, काभ्रे, नुवाकोट र धादिङ जिल्लामा बेमौसमी वर्षाका कारणले धान बालीमा भएको क्षतिको विवरण संकलन सुरु भएको हो ।
मन्त्रालयले क्षतिको विवरण संकलन सुरु गरेलत्तगै हालसम्मको प्रारम्भीक तथ्यांक सार्वजनिक भएको हो । सबैभन्दा धेरै चितवन, मकवानपुर र धादिङमा धानबालीमा क्षति पुगेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दिएको जानकारीअनुसार चितवनमा एक हजार ६ सय ३५ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा वर्षाले क्षति पुर्याएको छ ।
यस्तै, मकवानपुरमा एक सय हेक्टरमा लगाइएको धानबाली, सिन्धुलीमा ९० हेक्टरमा लगाइएको धानबाली, रामेछापमा ३० हेक्टरमा लगाइएको धानबाली, नुवाकोटमा ३६ हेक्टरमा लगाइएको धानबाली र धादिङमा ९८ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको मन्त्रालयले प्रारम्भीक तथ्यांक निकालेको छ । बागमती प्रदेशको दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर र रसुवामा भने धानबालीमा क्षति भएको विवरण सार्वजनिक भएको छैन ।
वर्षात्को समयमा पानी परेर भिœयाउन लागेको धान पानीले भिजेपछि सबैभन्दा धेरै चितवनका कृषकहरु चिन्तित बनेका छन् । चितवनका किसान हरि अधिकारी भन्नुहुन्छ– ‘दशैंअघि काटेर राख्यौं, चुट्ने बेला पानी आयो अहिले भिजेर सुकाएर राख्नुपरेको छ । वर्षात्का कारण खोला नजिकै लगाइएको धानबाली भने बाढी पसेर नष्ट भएको छ ।’
मकवानपुरको पूर्वी बकैया, बागमती र मनहरीमा पनि बेमौसमी वर्षाबाट भएको धानबालीको क्षतिको विवरण संकलन हुँदैछ । मकवानपुरमा भने खासै धेरै क्षति नपुगेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिनुभयो ।
असोजको अन्तिमबाट आएको असामान्य परिमाणको वर्षाले देशको पूर्वदेखि पश्चिमसम्मै व्यापक जनधनको ठूलो क्षति पुगेको छ । वर्षाले खासगरी धानबालीमा ठूलो मात्रामा क्षति पुर्याएका विवरणहरु आइरहेका छन् । बागमती प्रदेशमा पनि प्रारम्भीक तथ्यांक आइसकेको छ । केही दिनमै पूर्ण विवरण आइपुग्ने मन्त्रालयका सूचना अधिकारी अधिकारीले बताउनुभयो ।
बागमती प्रदेशले स्थानीय तहको कृषि प्राविधिक, मन्त्रालय मातहतका कृषि निर्देशनालयलगायतको प्राविधिक परिचालन गरेको छ । स्थानीय तहबाट तथ्यांकहरु आइरहेको मन्त्रालयले जानकारी दिएको छ । प्रदेशका १३ जिल्लामा बेमौसमी वर्षाले धानबालीमा भएको क्षतिको विवरण संकलन भइसकेपश्चात् प्रदेशले राहतको घोषणा गर्ने भएको छ । बागमती प्रदेशका ७ जिल्लामा मात्र ३ करोड ८२ लाख २० हजार रकमको क्षतिको अनुमान गरिएको छ ।
प्रदेशको कृषि मन्त्रालयले १ करोडसम्म विपद्का लागि राहत दिन बजेट विनियोजन गरेको छ । यस्तै थप रकम प्रदेश विपद् कोषबाट दिनसक्ने मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा बेमौसमी वर्षाले क्षति पु¥याएको किसानहरुलाई राहत दिन प्रदेश सरकार सकारात्मक भएको मन्त्रालयले बताएको छ । मन्त्रालयले क्षतिको पूर्ण विवरण आएपछि धानबालीमा लगाएको लागत रकम हिसाब गर्ने र सोहीअनुसार लागतको २० प्रतिशतसम्म राहत दिने तयारी गरेको छ ।
मकवानपुर जिल्लामा मात्रै झण्डै २० लाख, चितवनमा ३ करोड २७ लाख, सिन्धुलीमा १३ लाख ५० हजार, रामेछापमा १२ लाख, काभ्रेमा ३ लाख ५० हजार, नुवाकोटमा ७ लाख २० हजार र धादिङमा ९ लाख ८० हजार रुपैयाँको क्षति भएको अनुमान गरिएको छ । बागमती प्रदेशमा कति क्षेत्रफलमा लगाइएको धानबालीमा नोक्सानी भयो भन्ने पूर्ण विवरण आइसकेको छैन । प्रदेशका १३ जिल्लामा गत वर्ष ९४ प्रतिशत क्षेत्रफलमा रोपाईं सम्पन्न भएको थियो । बागमती प्रदेशमा २ हजार बढी हेक्टरमा धानबालीमा क्षति हुँदा किसान खाद्यसुरक्षा संकटमा पर्न सक्नेछन् । चामल आयातमा समेत वृद्धि हुनसक्ने देखिएको मन्त्रालयका अधिकारीले बताउनुभयो ।