फाइल तस्विर

हेटौंडाः दशैं पर्वको समयमा बन्द भएका मकवानपुरका सबै विद्यालयहरु कार्तिक ४ गतेबाट सञ्चालन गरिने भएको छ । विद्यार्थीको शिक्षण सिकाईमा अवरोध नहोस् भन्ने उद्देश्यले घटस्थापनादेखि छठ पर्वसम्म बन्द हुने विद्यालयहरु दशैंपछि खुल्ने भएका हुन् ।

हेटौंडा उपमहानगरपालिकाले गत सोमबार र मंगलबार आयोजना गरेको सामुदायिक र निजी विद्यालयका प्रधानाध्यापकहरुको बैठकले कार्तिक ४ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । मकवानपुरका केही विद्यालय आज (घटस्थापना)बाट बन्द भएपनि केही विद्यालय भने आइतबारसम्म सञ्चालन हुने भएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण भदौ २७ गतेबाट विद्यालय सञ्चालनमा आएको थियो । हेटौंडा उपमहानगरपालिकाका केही विद्यालयहरुमा परीक्षा सञ्चालन भइरहेका कारण भोलि शुक्रबारसम्म सञ्चालन हुने भएका छन् ।

मकवानपुरको बागमती गाउँपालिकाका विद्यालयहरु २६ गतेबाट बन्द हुने भएको छ । कार्तिक ४ गतेबाट विद्यालय खुल्ने बागमती गाउँपालिकाका शिक्षा अधिकृत रमेश बिडारीले बताउनुभयो ।
यसैगरी राक्सिराङ गाउँपालिकामा आजबाट विद्यालय बन्द भएको छ । राक्सिराङ गाउँपालिकाका शिक्षा अधिकृत प्रदीप पराजुलीले आज घटस्थापनाबाट बन्द भएका विद्यालय कार्तिक ४ गतेबाट खुल्ने बताउनुभयो । स्थानीय पाठ्यक्रम तयार गरेर पठनपाठन गराइरहेको राक्सिराङ गाउँपालिकामा ५३ वटा विद्यालय रहेका छन् ।

मकवानपुरको मनहरी गाउँपालिकाका सामुदायिक विद्यालयहरु शनिबारबाट बन्द भई कार्तिक ४ गतेबाट खुल्ने भएको छ । मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबारसम्म पढाइ हुने बताउनुभयो । यस्तै, पालिकाका विद्यालयहरु दशैं विदापछि कार्तिक ४ गतेबाट खुल्ने उहाँले बताउनुभयो । मकवानपुरमा सामुदायिक र निजी गरी ५ सयभन्दा बढी विद्यालय रहेका छन् ।