हेटौंडाः रसायन तथा मेडिकल आपूर्ति संघ मकवानपुरले स्थापना दिवसको अवसरमा मामाघर नेपाललाई सहयोग गरेको छ । संघको १७ औं स्थापना दिवस तथा दसैंको अवसरमा मामाघर नेपालमा आश्रित बालबालिकाको आवश्यकताअनुसार खर्च गर्न मिल्ने गरी नगद २० हजार रुपैयाँ सहयोग गरिएको हो । संघको स्थापना दिवसकै अवसरमा बुधबार साँझ हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलनको कार्यक्रम समेत राखिएको छ ।
संघका अध्यक्ष लक्ष्मण अधिकारी नेतृत्वमा संघका पदाधिकारी तथा सदस्यको समूह बुधबार हेटौंडा–११, डाङडुङेस्थित मामाघर नेपालमै पुगेर सहयोग रकम हस्तान्तरण गरिएको हो । मामाघर नेपालकी उपाध्यक्ष ईश्वरी अर्याल र सचिव रञ्जीता सिलवाललाई सहयोग रकम हस्तान्तरण गरिएको छ । अभिभावकको लापरवाहीका कारण सडकमा कष्टकर जीवन बिताउन बाध्य बालबालिकाको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलन गराउन मामाघर नेपालले समाजकै अभिभावकको रुपमा कार्य गर्दै आएको जानकारी गराउनुहुँदै उपाध्यक्ष अर्यालले सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
मामाघर नेपालमा अहिले २१ जना बालकहरु आश्रित छन् । मामाघर नेपालमा आश्रितम बालकहरु २ कक्षादेखि ११ कक्षासम्म अध्ययनरत छन् । केही बालक मामाघर नेपाल स्थापनाकालदेखि नै बस्दै आएका छन् भने पछिल्लो ५ महिनादेखि नयाँ बालकको उद्दार गर्न नपरेको मामाघर नेपालले जनाएको छ । सडकमा कष्टकर जिवन बिताउन बाध्य बालकहरुको उद्दारपछि आवासीय सुविधाका साथै औपचारिक शिक्षा र व्यक्तित्व विकासका विविध क्रियाकलापमा बालकहरुलाई मामाघर नेपालले सहभागी गराउँदै आएको छ । मामाघर नेपालमा आश्रितको नियमित सेवा, सुविधाका लागि विभिन्न व्यक्ति, संघ, संस्थाहरुले विभिन्न अवसरमा सहयोग गर्ने गरेको छ ।
रसायन तथा मेडिकल आपूर्ति संघ मकवानपुरका अध्यक्ष लक्ष्मण अधिकारी मामाघर नेपालकी उपाध्यक्ष ईश्वरी अर्याललाई सहयोग रकम हस्तान्तरण गर्नुहुँदै ।