हेटौंडाः मकवानपुरमा मोटरसाइकल चोरी गर्ने घटना अत्यधिक बढेको देखिन्छ । बागमती प्रदेशको राजधानी हेटौंडाका विभिन्न चोकहरु, सरकारी कार्यालय र सडकमा पार्किङ गरेर राखेको ठाउँबाट मोटरसाइकल चोरी भएको पाइन्छ । विभिन्न स्थानहरुमा सीसी क्यामेरा जडान गरे पनि अपराध नियन्त्रण हुन सकेको देखिँदैन ।
चालु आर्थिक वर्षको करिब ३ महिनामा मात्र ४१ वटा मोटरसाइकल चोरी भएको मुद्दा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएको तथ्याङ्क छ । जसमध्ये जम्मा ४ वटा मोटरसाइकलमात्र फेला पारेर प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । यस्तै गत आर्थिक वर्षमा १ सय ५० वटा मोटरसाइकल हराएको मुद्दा दर्ता भएकोमा १६ वटामात्र मोटरसाइकल फेला पारेर प्रहरीले सम्बन्धित धनीलाई बुझाएको थियो । चोरी भएका मोटरसाइकलमध्ये सबैभन्दा बढी १५० सीसीको पल्सर मोटरसाइकल रहेको छ ।
जिल्लाका विभिन्न स्थानमा जडान गरिएका सीसी क्यामेराहरु बिग्रिएर नचलेको अवस्थामा छ । हेटौंडा उपमहानगरपालिकाको मुख्य–मुख्य चोकहरुमा पनि जडान गरिएको केही सीसी क्यामेराहरु बिग्रिएर नचलेको अवस्थामा छ । बिग्रिएका सीसी क्यामेरा मर्मत गर्न भने पालिका र सम्बन्धित निकायहरुले चासो कम दिएको पाइन्छ ।
नेपालीहरुको महान चाड दशै, तिहार, छठजस्ता पर्वहरु नजिकिँदैछ । हेटौंडा बजारमा मानिसहको भिडभाड, सवारी साधनहरुको चाप बढ्न थालेको छ । प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न चुनौती हुने देखिन्छ । चाडपर्वमा बढी सवारी चापका कारण सवार साधनहरु यत्रतत्र राख्नुुपर्ने भएकाले यो समयमा मोटरसाइकलहरु बढी चोरी हुनसक्ने प्रहरीले जनाएको छ ।