हेटौंडाः मकवानपुरमा सवारी दुर्घटना बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज १५ सम्म मकवानपुर जिल्लामा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।
साउन महिनामा मात्र ४ जनाको सवारी साधन दुर्घटनामा परी मृत्यु भएको छ । साउनमा दुर्घटनामा परी ११ जना गम्भीर घाइते र ४४ जना सामान्य घाइते भएको तथ्याङ्कमा उल्लेख छ । साउनमा २५ वटा दुर्घटना भएकोमा ३७ सवारी साधन दुर्घटनामा परेकोे छ ।
यस्तै, भदौ महिनामा सवारी साधन दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । भदौमा दुर्घटनामा परी ११ जना गम्भीर घाइते भएका छन् । भदौमा १५ वटा दुर्घटना भएकोमा २४ सवारी साधन दुर्घटनामा परेको छ ।
यस्तै, असोजमा भने दुर्घटनामा परी कसैको ज्यान गएको छैन । असोजमा दुर्घटनामा परी ५ जना गम्भीर घाइते भएका छन् । असोजमा १० वटा दुर्घटना भएकोमा १३ सवारी साधनहरु दुर्घटनामा परेको छ ।
साँघुरो, खाल्डो भएका सडकहरु बिग्रिएपछि मर्मत नगर्नाले, सवारी चालकहरुको लापरबाही, मादक पदार्थ सेवन गरी गाडी चलाउनाले, गाडीमा ओभरलोड बोक्नाले सडकमा सवारी दुर्घटना बढिरहेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख प्रकाश पाण्डे बताउनुहुन्छ । सडक चौडा, बिग्रिएका सडक मर्मत गर्यो भने सवारी दुर्घटनामा कमी आउने प्रमुख पाण्डेको भनाई छ ।
बागमती प्रदेशको राजधानी हेटौंडामा सवारी साधनहरुको बढ्दो चाप, साँघुरो सडक र सडक बिग्रिएर जताततै खाल्डाहरु छन् । यसप्रति पालिकाले ध्यान दिएको देखिँदैन । सडक विभागहरुले सडकहरु निमार्ण गर्दा मापदण्डअनुसार निर्माण नगर्दा सडक बिग्रिएर खाल्डा बनेका हुन् ।