साङ्केतिक तस्बिर goole.com

हेटौंडाः मकवानपुरमा जबरजस्ती करणी गर्नेको संख्या अत्यधिक देखिएको छ । जिल्ला सरकारी वकिल कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा ३५ जनालाई जबरजस्ती करणी अभियोगमा मुद्दा चलाएको छ । ३५ जनालाई मुद्दा अभियोग लागेकोमा २९ वटाको मात्र फैसला भएको छ । फैसला भएकोमा २३ जनालाई सजाय तोकिएको छ भने ६ जनाले सफाई पाएका छन् । ६ वटा मुद्दाहरु चालु आर्थिक वर्षमा सरेर आएको जिल्ला सरकारी वकिल कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, गत आर्थिक वर्षमा जिल्ला सरकारी वकिल कार्यालय मकवानपुरमा जबरजस्ती करणी उद्योग मुद्दामा ९ जनाविरुद्ध मुद्दा चलाएकोे थियो । ९ वटा मुद्दामध्ये ६ वटा मुद्दा अदातलले फैसला गरेको छ, जसमा ३ जनालाई सजाय गरेको छ भने ३ वटा चालु आर्थिक वर्षमा सरेर आएको छ ।

गत आर्थिक वर्षमा जिल्ला सरकारी वकिल कार्यालय मकवानपुरले बालयौन दुरुपयोगमा ७ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । ७ वटा मुद्दामध्ये ४ वटा मुद्दा अदातलबाट फैसला भएको छ । फैसला भएका ४ मुद्दामध्ये ३ जनालाई सजाय र १ जनाले सफाई पाएका छन् । बा“की ३ मुद्दा चालु आर्थिक वर्षमा सरेर आएको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, गत आर्थिक वर्षमा जिल्ला सरकारी वकिल कार्यालय मकवानपुरले लागूऔषध मुद्दामा १ सय ४१ जनालाई अभियोग दर्ता गरेको छ । अभियोग लागेको १ सय ४१ मुद्दामध्ये १ सय ३१ वटा मुद्दाको मात्र अदालतबाट फैसला भएको छ । फैसला भएका मुद्दामध्ये १ सय १३ जनालाई सजाय र १८ जनाले सफाई पाएका छन् । बाँकी १० मुद्दा चालु आर्थिक वर्षमा सरेर आएको कार्यालयको वार्षिक तथ्यांकमा उल्लेख छ ।

जिल्ला सरकारी वकिल कार्यालयले चालु आर्थिक वर्षमा जबरजस्ती करणी मुद्दामा ९ जनाविरुद्ध अभियोग दर्ता गराएको छ । चालु आर्थिक वर्षमा कार्यालयले ३२ जनालाई लागूऔषध गा“जा मुद्दामा अभियोग दर्ता गरेको छ ।

चालु आर्थिक वर्षमा अभियोग दर्ता भएका मुद्दाहरुको अदालतले गरेको फैसलाको तथ्याङ्क भने राख्न नसकेको कार्यालयका खरिदार सञ्जीव पण्डितले जानकारी दिनुभयो । कार्यालयमा कर्मचारीको अभावका कारण मासिकरुपमा तथ्याङ्कहरु राख्न नसकिएको उहाँले जानकारी दिनुभयो ।

कार्यालयको भौतिक संरचना पनि अभाव रहेको पण्डितले बताउनुभयो । ‘जिल्ला सरकारी वकिल कार्यालयको आफ्नो भवन छैन । अहिले उच्च सरकारी वकिल कार्यालयको पुरानो भवनबाट काम गरिरहेका छौं’, पण्डितले भन्नुभयो– ‘भवनको अभाव हुँदा कार्यालयका अभिलेख तथा कागजातहरु यत्रतत्र राख्नुपर्ने भएकाले खोजेको बेला पाउन सक्दैनौं । कार्यालयको कोठामा कागजात यात्रतत्र भएकाले कम्प्युटर राख्ने ठाउँ छैन, काम गर्न निकै असहज छ ।’