तस्बिरः गुगल ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाका विद्यालयमा सेनेटरी प्याड भेन्डिङ मेशिन जडान हुने भएको छ । बकैया गाउँपालिकाअन्तर्गत्का १६ वटा विद्यालयमा प्याड भेन्डिङ मेशिन जडान गर्न लागिएको हो । पहिलो चरणमा ११ माध्यमिक विद्यालयमा मेशिन जडान हुनेछ ।

बकैया गाउँपालिकाले १९ लाख ६० हजार रुपैयाँको लागतमा १७ वटा सेफ्टी सेनेटरी प्याड भेन्डिङ मेशिन जडान गर्ने गाउँपालिकाका उपाध्यक्ष सरला बोलखेले जानकारी दिनुभयो । गाउँपालिकाअन्तर्गत्का सबै माध्यमिक विद्यालयमा मेशिन राख्न लागिएको छ । भेन्डिङ मेशिनसँगै डिस्पोजल मेशिनसमेत राखिनेछ ।

आइतबार बकैया गाउँपालिकाको कार्यालयमा सेनेटरी प्याड भेन्डिङ मेशिन जडान गरेर परीक्षणसमेत भएको छ । परीक्षण सफल भएसँगै सोमबारदेखि १६ विद्यालयमा मेशिन जडान हुनेछ । विद्यालयको व्यवस्थापनमा भेन्डिङ मेशिन सञ्चालनमा आउनेछ । मेशिनमा २ रुपैयाँको सिक्का हालेपछि एउटा प्याड बाहिर आउनेछ । छात्राहरुले निःशुल्क सेवा लिन पाउने जनाइएको छ ।

गाउँपालिकाले दोस्रो चरणमा बर्थिङ सेन्टरलगायत अन्य कार्यालयहरुमा सेफ्टी सेनेटरी प्याड भेन्डिङ मेशिन राख्ने योजना बनाएको उपाध्यक्ष बोलखेले बताउनुभयो ।