संप्रस पौडेल

एक दिन…
काठमाण्डौंका गगनचुम्बी महलहरुमा तिहारका समयमा घर लिपपोत गर्ने नेपाली आदिम परम्पराको झल्को प्रदर्शन गरिएको छ । सारा सहरबासीहरुले आ–आप्mना घर कमेरो, रातो माटो र गेरुले लिपपोत गरेका थिए । नेपाललाई लक्षित गरी अमेजन इकमर्स वेबसाइटले समेत विशेष सहुुलियतमा रातो माटो बिक्री गरिरहेको छ ।

अर्को एक दिन…
आज हेटौंडा बुद्धचोकमा एउटा टायर र सोमाथि मैनबत्ती बालेर वायु प्रदुषण गरेको भन्दै प्रहरीले १ जना प्रदर्शनकारी पक्राउ गरेको छ । यस्ता हर्कत गर्ने जोकोहीलाई वातावरण ऐनअनुसार वायु प्रदुषणको कसूरमा १० वर्षसम्म कैद हुन सक्ने ऐनमा उल्लेख गरिएको छ । त्यस्तो हर्कत देख्नु परेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले लज्जित महसुस भएको प्रतिक्रिया जनाएका छन् ।

अर्को दिन…
हालसालै मात्र भूगर्भविद्हरुले गरेको उत्खननबाट सयौं वर्षअघि इलाममा चिया बगान भएको भग्नावशेषहरु भेटिएका छन् । त्यसको उचित संरक्षण गरिने सरकारले बताएको छ ।

अर्कै दिन…
अत्यधिक गर्मीका कारण नेपालगञ्ज रेल वे सेवा केही दिनका लागि स्थगित गरिएको छ । यसबाट दैनिक ६ लाख डलर आम्दानी बन्द भएको रेल वे प्रशासनले बताएको छ । नेपालले भारतबाट जडिबुटी बोकेर ल्याई प्रशोधन गर्ने उद्देश्यले आजभन्दा ५ सय वर्ष अघि यसको सुरुवात भएको थियो ।

कुनै दिन…
नयाँ वर्षको अवसर पारेर सौराहामा ५० लाख विदेशीहरु ल्याउने योजना बनाइएको छ । यो पटक यहाँका स्थानीयले घर घरमा पालेका गैंडा, अर्ना र मृग, जरायो आदि जनावरहरु प्रदर्शनलाई विशेष जोड दिइने सौराहा टाइम्सका सम्पादक जोन म्याकवेल चौधरीले बताउनु भयो ।

कुनै अर्कै दिन…
गुगलको प्रयोग गरी कालीकोटमा उत्पादित स्याउको बास्ना क्वालालाम्पुरका जनताले स्वाद लिएकामा त्यसको मूल्य तिर्नका लागि उनीहरु सहमत भएको खबर न्यूयोर्क टाइम्सले छापेको छ ।

लेखको अन्तिम दिन…
श्वास फेर्दा नेपालको हावा प्रयोग गरेबापत भारत, चीन, पाकिस्तान, बंगलादेश लगायत विश्वका विकसित मुलुकहरुले समेत त्यसको मूल्य बुझाउनु पर्ने भन्दै अन्तर्राष्ट्रिय न्यायालयमा मुद्दा परेकोमा नेपालले हालसालै सो मुद्दा जितेको छ । यसबाट नेपालले बिगतदेखि लिँदै आएको सहुलियत, सहयोग, दान, अनुदान, वैदेशिक ऋण तिरेर विदेशी नीतिमुक्त नेपाल बनाउन सहयोग हुने अपेक्षा लिएको छ ।
(यी काल्पनिक समाचारहरु आजभन्दा १ हजार वर्षपछिका लागि तयार गरिएका हुन् ।)