दुबै मृगौला फेल भएर हेटौंडा अस्पतालमा निशुल्क डायलासिस सेवा लिइरहेको बद्रीमाया स्याङ्तान ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६, शक्तिखोला निवासी ४९ वर्षीया बद्रीमाया स्याङ्तान विगत एक वर्षदेखि जीवन र मृत्युको दोसाँधमा छट्पटाइरहनुभएको छ । उहाँको दुबै मृगौला फेल भएको छ । यसअघि किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा हप्ताको दुई पटक डायलासिस गराउनुपर्नेमा एक पटक डायलाइसिस गराएको ३ हजार ५ सय तिरेर सेवा लिनुभएको र अहिले हेटौंडा अस्पतालमा भने निःशुल्क सेवा लिइरहनुभएको छ ।

बद्रीमायाको छोरा पवन स्याङ्तानले अहिले आमाको हेरचाह गरिरहनुभएको छ । दुबै मृगौला फेल भएका आमाको उपचारका लागि यसअघि १६ लाख सकिसकेको पवनले बताउनुभयो । कक्षा १२ मा पढिरहनुभएका पवनले सानै उमेरमा धेरै दुःख पाएर अहिले आर्थिक अवस्थाले नधानेपछि पढाइ छाड्नुपरेको छ । ‘पढ्ने इच्छा हुँदाहुँदै पनि पढाइ छोड्नुपर्‍यो । कक्षा १० मा पढिरहेकी बहिनीले पनि पढाइ छोड्नुपर्‍यो । आफूले पढ्न नपाए पनि बहिनीलाई पढाउने चाहना हुँदाहुँदै पढाउन सकिन’, पवन भन्नुहुन्छ– ‘आमाको राम्रो उपचार गर्न मन छ । मन भएरमात्र के गर्नु, धन छैन । धन नभए केही हु“दोरहेनछ ।’

आमाको राम्रो उपचार भएर पहिलाको जस्तै भएको हेर्ने इच्छा भएको पवनले बताउनुभयो । घरको आर्थिक अवस्था निकै कमजोर भएकाले आमाको उपचार गर्ने मन भए पनि आफूले नसक्ने उहाँले भन्नुभयो । अहिलेसम्म उपचार गर्न लागेको खर्च सबै ऋण लिएर गरेको बताउँदै घरमा बुवा पनि बेरोजगार रहेको पवनको भनाई छ । ‘आम्दानीको स्रोत केही छैन । घरमा आमा, बुवा, म र बहिनी छौं । डाक्टरले भन्नुहुन्छ– दुबै मृगौला फेल भएको बिरामीलाई डायलासिस गराएरमात्र हुँदैन, मृगौला फेर्नुपर्छ’, पवनले भन्नुभयो– ‘मलाई पनि आमाको उपचार गराउन मन नभएको कहाँ हो र ? सामान्य उपचार गराउन त नसक्ने मैले मृगौला फेर्नलाई त्यति धेरै पैसा कहाँबाट ल्याउनु ?’

चितवनमा डायलासिस गराउन नसके पनि अहिले यहाँ निःशुल्क सेवा पाएकाले अलि सजिलो भएको पवनको भनाई छ । आमाको उपचारका लागि गाउँमा चन्दा पनि उठाएर हिँडेको बताउँदै पवनले भन्नुभयो– ‘गाउँमा १० रुपैयाँदेखि एक सय रुपैयाँसम्म दिनुहुन्थ्यो । त्यतिले मृगौला फेर्न सम्भव छैन ।’ आफूलाई जन्म दिने आमाभन्दा ठूलो कोही हुँदैन भन्दै आमाको उपचारका लागि आफूहरुसँग अब एक सुको पनि नभएको पवनले बताउनुभयो । ‘जग्गा बेचेर उपचार गरौं भने जग्गाको लालपूर्जा पनि छैन’, उहाँले भन्नुभयो– ‘अहिलेसम्म देश विदेशबाट सहयोग आएको पैसा र ऋण काढेर सामान्य उपचार गरिरहेका छौं । सामान्य उपचारमात्र गर्दा आमाको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको छ ।’
आफूले आमालाई सकेसम्म बचाउन चाहेको भन्दै पवनले आमाको उपचारको लागि सहयोग गरिदिन सबैसँग अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो– ‘देश विदेशमा रहनुभएका सबै व्यक्त तथा संघसंस्थालाई सहयोग गरेमा मेरो आमाले नयाँ जीवन पाउनुहुन्छ ।’