
हेटौंडाः नेकपा (माओवादी केन्द्र) ईन्द्रसरोवर गाउँपालिकाको कार्यालय उद्घाटन तथा विस्तारित बैठक भएको छ । बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले नेपाली जनताको हितका लागि सदैब लडिरहने पार्टी माओवादीमात्र रहेको बताउनुभयो ।
माओवादीले अवसर पाउँदा जनपक्षीय काम गरेको दावी गर्दै उहाँले भन्नुभयो, ‘कृषि ऋण मिनाहा, एकल महिला भत्ता, लोडसेडिङको अन्त्य, बिजुली महशुल छुट, हालैमात्र पनि दीर्घरोगीका लागि भत्ता, मासिक २० युनिटभन्दा कम खपत गर्नेलाई निःशुल्क बिजुलीलगायत जनहितका काम गरेका छौं ।’ जनताले चाहेको सुशासन, समृद्धि र विकास माओवादीबाट मात्रै सम्भव रहेको मोक्तानको दाबी छ । पार्टीलाई स्थानीय तहदेखि नै बलियो बनाउने अभियानमा लागि परेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पार्टीको मकवानपुर जिल्ला सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख कमानसिं पाख्रिनले देशको स्वाभिमान जोगाउन संघर्ष गर्ने इमानदार पार्टी नै माओवादी भएको बताउनुभयो । विचारसहितको पार्टीले मात्रै समाज परिवर्तनलाई सही नेतृत्व दिनसक्ने भन्दै उहाँले परिवर्तनलाई संस्थागत गर्नसक्ने क्षमता माओवादीमा मात्र देखिएको दाबी गर्नुभयो ।
गाउँपालिका कमिटी अध्यक्ष विर्जु पदम लामाको अध्यक्षतामा भएको बिस्तारित बैठकमा ईन्द्रसरोबर गाउँपालिका इन्चार्ज विनायक गोले, वाईसीयल जिल्ला सदस्य सानुबाबु मोक्तान, थाहा नगर कमिटी अध्यक्ष मानसिं दोङ, उपाध्यक्ष दिवाकर गोपाली, अनेरास्ववियु क्रान्तिकारी मकवानपुरका सह–सचिव मुकेश गोलेलगायतको उपस्थिति रहेको थियो । बैठकले असोज ९ गतेदेखि पार्टी सुदृढीकरण तथा संगठन विस्तार, पार्टी सदस्य नवीकरण, वडा पार्टी सम्मेलन तयारी गर्ने र असोज १५ गतेदेखि वाईसीयल गाउँ सम्मेलन गर्ने, जनवर्गीय संगठन विस्तार गर्ने निर्णय गरेको गाउँपालिका इन्चार्ज गोलेले बताउनुभयो ।