कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र मकवानपुरले हेटौंडामा आयोजना गरेको कार्यत्रलमा बोल्नुहुँदै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना

हेटौंडाः नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधानको सफल कार्यान्वयन र जगेर्ना गर्ने दायित्व पनि नेपाली कांग्रेसकै नेता तथा कार्यकर्ताको काँधमा आएको बताउनुभएको छ ।

७ औ संविधान दिवसको अवसरमा सन्तनेता कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र मकवानपुरले हेटौंडामा आयोजना गरेको संविधान निर्माणमा कृष्णप्रसाद भट्टराईको प्रेरणा विषयक विचार गोष्ठीमा बोल्दै नेतृ डीनाले सन्तनेता कृष्णप्रसाद भट्टराईका मार्गमा हिँडे मात्रै पनि कांग्रेसले संविधानको रक्षा गर्नसक्ने बताउनुभयो । उहाँले सन्तनेता कृण्णप्रसाद भट्टराईको त्याग र बलिदानलाई आत्मसात गर्ने हो भने नेपाली कांग्रेसलाई धु्रवीकृत हुनबाट जोगाउन सकिने र एकताबद्ध बनाएर लैजान सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु लामिछाने, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, सहप्राध्यापक कृष्णप्रसाद दाहाल, नेपाली कांग्रेस हेटौंडा नगरसभापति आनन्दराम पराजुली, स्मृति केन्द्रका उपाध्यक्षद्वय शुभाषचन्द्र अधिकारी र मञ्जु खराललगायतले सन्तनेता कृष्णप्रसाद भट्टराईको बारेमा चर्चा गर्नुभएको थियो ।

स्मृति केन्द्रका अध्यक्ष बिजेन्द्र अग्रवालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सल्लाहकार अशोक शाक्य, प्रवक्ता प्रदीप कोइराला, जिल्ला सदस्य राजीव सुवेदी, सुशान्त श्रेष्ठ, इन्दिरा न्यौपाने, अमृता थापा, सुनिल अधिकारीलगायत नेपाली कांग्रेसका विभिन्न भातृसंगठनका जिल्ला अध्यक्ष, शुभेच्छुक संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । संविधान दिवसको अवसरमा स्मृति केन्द्रको आयोजनामा पार्टी कार्यालयमा दीप प्रज्वलनसमेत गरिएको थियो ।