हेटौंडाः बाराको सिमरामा आयोजना भएको भेट्रान्स कप फुटबल प्रतियोगितामा हेटौंडाका २ क्लबले विजयी सुरुवात गरेका छन् । कोशेली युथ क्लबको आयोजनामा असोज १ गतेबाट सुरु भएको हुलास कप ८ ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको पहिलो चरणको खेलमा हेटौंडाको फ्रेन्डसिप भेट्रान र एफसी कालभैरबले विजयी सुरुवात गरेको हो ।
शनिबार भएको खेलमा फ्रेन्डसिप भेट्रानले वीरगञ्ज युथ एकेडेमी भेट्रानलाई ४–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । निर्धारित ५० मिनेटको खेलमा फ्रेन्डसिप भेट्रानलाई जीत दिलाउनका लागि मनोज लामा र मदन लामाले २-२ गोल गरेका छन् ।
खेलको पहिलो हाफमा १–० को अग्रता लिएको फ्रेन्डसिप भेट्रानले दोस्रो हाफमा थप ३ गोल गर्दै सानदार जीत हात पारेको हो । यस्तै शुक्रबार नै भएको खेलमा हेटौंडाको एफसी कालभैरबले भेट्रान सिटी वीरगञ्जलाई १–० गोलले पराजित गरेको छ ।
आइतबार हेटौंडाकै नागस्वती भेट्रान क्लबले पश्चिम चितवन भेट्रानसँग प्रतिस्पर्धा गर्नेछ । यो दुईमध्येको विजेता टिमले असोज ४ गते फ्रेन्डसिप भेट्रानको सामना गर्नेछ भने एफसी कालभैरबले पनि ४ गते नै वीरगञ्ज सिटी भेट्रानसँग प्रतिस्पर्धा गर्दैछ ।
५० हजार रुपैयाँ राशिको उपाधि रहेको प्रतियोगितामा हेटौंडाका ३ क्लबसहित कुल २० क्लबको सहभागिता रहेको छ । कुल १९ खेल हुने प्रतियोगिताको उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताको फाइनल असोज ९ गते हुने आयोजकले जानकारी दिएको छ ।
यस्तै, प्रतियोगितामा सहभागिता जनाएको फ्रेन्डसिप भेट्रान क्लबलाई मुन्डियाल स्पोर्टस् हाउसका प्रोपाइटर सुबिन घिमिरेले जर्सी तथा जुराफ सहयोग गर्नुभएको छ । क्लबको खेलाडीसमेत रहनुभएका घिमिरेले आफ्नो स्वर्गीय बुवा सुदर्शन घिमिरेको स्मृतिमा परिवारको तर्फबाट जर्सी तथा जुराफ सहयोग गर्नुभएको हो ।
शनिबार आफ्नै निवासमा एक कार्यक्रमको आयोजना गरी घिमिरेले क्लबलाई २० हजार रुपैयाँ मूल्य बराबरको १५ सेट जर्सी तथा जुराफ प्रदान गर्नु भएको थियो ।