हेटौंडाः ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा जिम्मेवार अभिभावक विषयमा निबन्ध लेखन तथा प्रस्तुती कार्यक्रम भएको छ । जेसीआई हेटौंडा लेडीको आयोजनामा निबन्ध प्रतियोगिता भएको हो ।
हेटौंडास्थित रोयल पार्टी प्यालेसमा भएको प्रतियोगितामा ९ जना प्रतियोेगीको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागीले बाल अधिकार, बालबालिकाको स्याहारमा अभिभावकको भूमिका र आफूले गर्दै आएको अभ्यासबारे व्याख्या गरेका थिए । बाल दिवसमा बालबालिकालाई नै सहभागी गराई प्रतियोगितात्मक रचनात्मक कार्यक्रमको आयोजना गरिने परम्परा विपरित जेसीआई हेटौंडा लेडीले बालबालिकाको हकअधिकार सुनिश्चित गर्न, बालबालिकाको उचित स्याहार, पालनपोषणमा अभिभावकको अनुभव तथा प्रयासलाई प्रस्तुत गर्ने गरी निबन्ध प्रतियोगिताको आयोजना गरिएको जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले बताउनुभयो ।
अस्मिता नेपालको समन्वयमा भएको प्रतियोगितामा भावना रिजाल प्रथम हुनुभयो भने राम मिजार द्वितीय हुँदा शशिता दंगाल तृतीय हुँदै प्रमाणपत्रसहित क्रमशः दुई हजार पाँच सय, दुई हजार र एक हजार पाँच सय रुपैयाँ नगद समेत प्राप्त गरेका छन् । अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले अभिभावकबीच आयोजना गरिएको प्रतियोगिता नौलो र उपलब्धीमूलक भएको बताउनुभयो । जेसीआई हेटौंडा लेडीकी सदस्य इन्दिरा बानियाँको संयोजकत्वमा कार्यक्रम भएको हो ।
बागमती प्रदेशको बालअधिकार समितिका सदस्य झविन्द्र ज्ञवालीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । ज्ञवालीले बालबालिकालाई गरेको माया अभिभावकले फिर्ता पाउँछन् भन्ने महत्वपूर्ण अभिव्यक्ति सिक्ने अवसर प्राप्त भएको बताउनुभयो । सामाजिक सेवाको क्षेत्रमा क्रियाशील जेसीजले अधिकारमुखी कार्यक्रम गरेकोमा ज्ञवालीले आभार व्यक्त गर्नुभएको छ । निबन्ध प्रतियोगिताको निर्णायकमा साहित्य संगम मकवानपुरकी उपाध्यक्ष अनिता न्यौपाने र हेटौंडा–१, चौकीटोलस्थित अमर माविकी शिक्षक खगिन्द्र शर्मा रहनुभएको थियो ।