हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले लोकतान्त्रिक (हुप्र) चौरको सरसफाइ गर्न सुरु गरेको छ । हेटौंडाका मेयर हरि बहादुर महतको समेत उपस्थितिमा आज शनिबार हेटौंडा ४ स्थित हुप्रचौर मा रहेको झाडी सरसफाइ गर्न सुरु गरिएको हो ।
लामो समयदेखि हुप्रचौरमा खेलकुदका कार्यक्रमहरु नहँुदा र यसको संरक्षणमा कसैले ध्यान नदिँदा झारहरु बढेर जंगलकै स्वरुप लिएपछि चौरको सरसफाइमा कसैले चासो नदेखाएको भन्दै समृद्ध समाज राष्ट्रिय दैनिकले समाचार प्रकाशन गरेको भोलिपल्ट देखि नै उपमहानगरपालिकाले सरसफाइ गर्न सुरु गरेको छ । शनिबार बिहान एक सय ५० जनाको टोलिले हुप्रचौरको सरसफाई गरेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
हुप्रचौर सरसफाइमा नेपाल प्रहरी, उपमहानगरपालिकाको नगर प्रहरी, खेलप्रेमी युवाहरु तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु समेतको सहभागितामा सरसफाई गरिएको मेयर महतले जानकारी दिनुभयो । उहाँका अनुसार ठुला खालका झारहरु काट्ने, फोहोर टिप्ने लगायतका काम गरिएको छ । हुप्रचौर सरसफाइ गनैृ कार्यलाई निरन्तरता दिँदै हरेक शनिबार सरसफाइ गर्ने उहाँले बताउनुभयो ।
शनिबार भएको सरसफाइ कार्यक्रममा हुप्रचौरको लगभग आधा भागमा झाडी पन्छाउने काम भएको छ । मुख्य फुटबल मैदान क्षेत्रमा रहेका ठुला ठुला झारहरु काटेर त्यही सुक्नका लागि छाडिएको छ । यसबाहेक हुप्रचौरमै रहेको भलिलबल कोर्ट तथा क्रिकेट प्रशिक्षण स्थल क्षेत्रमा अहिले पनि उत्तिकै झाडी रहेको छ । जसकारण हाल उक्त स्थानमा भलिबल तथा क्रिकेटको प्रशिक्षण गर्न अझै पनि असम्भव नै रहेको छ । झाडी सफा गरिएको स्थानमा पनि झारका ठोसाहरु र काटिएका झारहरु त्यतिकै राखिएको कारण तत्काल खेल तथा प्रशिक्षण सुरु गर्ने अवस्था भने बनेको छैन ।