हेटौंडाः हेटौंडा बजारको मुटुमा रहेको लोकतान्त्रिक (हुप्र) चौरको अवस्था अहिले दयनीय बनेको छ । कुनै समय विभिन्न खेलकुदका कार्यक्रमहरु हुने र दैनिकजसो व्यस्त रहने हुप्रचौर अहिले जंगल नै बनेको छ ।

पछिल्लो समय हुप्रचौरमा कुनै खेलकुदका कार्यक्रम नहुँदा र यसको सरसफाईको काम नहुँदा हुप्रचौरको पूरै क्षेत्रमा झारहरु बढेर मानिसभन्दा पनि अग्लो बुट्यानको रुप लिँदैछ । यसले हुप्रचौर कुनै खेल मैदान नभई जंगल नै हो कि भन्ने आंकलन गर्न लागिएको छ । सफा हुँदा सबैले प्रयोग गर्ने हुप्रचौर अहिले सरसफाईको खाँचो पर्दा सबैको आँखा बन्द भएको छ ।

गत चैत्र महिनामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भएपछि यहाँ कुनै खेलकुदका प्रतियोगिता भएका छैनन् । बैशाखबाट कोरोना संक्रमण पुनः बढेका कारण खेलकुदका कार्यक्रमहरु रोकिएपछि हुप्रचौरमा झारहरु बढेका छन् । दोस्रो चरणको कोरोना संक्रमण हटाउन सबैले ५ महिना निकै संघर्ष गरे, तर हुप्रचौरको झाडी हटाउन भने कसैले वास्ता गरेको देखिँदैन । यतिसम्म कि हुप्रचौरकै प्राङ्गणमा रहेको मकवानपुर जिल्ला खेलकुद विकास समितिसमेत आँखामा पट्टी बाँधेर बसेको छ ।

हेटौंडा उपमहानगरपालिकाको ४ नं. वडामा पर्ने हुप्रचौरमा न त वडा कार्यालयको ध्यान गएको छ, न त अधिकांश फुटबल प्रतियोगिता हुप्रचौरमै आयोजना गर्ने फुटबल संघको नै । हुप्रचौर सफा हुञ्जेलसम्म विभिन्न खेलकुदका कार्यक्रम आयोजना गर्ने, खेलाडी प्रशिक्षण गर्ने खेलकुद संघ तथा क्लबहरु अहिले कहाँ छन् भनेर टर्च नै बाल्नुपर्ने अवस्था छ । हुप्रचौरमा बढेको झाडीका कारण क्रिकेटका लागि बनाएको पिचसमेत कुन स्थानमा छ भनेर पत्ता लगाउन मुस्किल परेको छ । हेटौंडा उपमहानगरपालिकाको नगर विकास समितिको स्वामित्वमा रहेको हुप्रचौरलाई संरक्षण गर्न बनेको हुप्रचौर संरक्षण समितिसमेत अहिले कहाँ छ भनेर कसैलाई पनि जानकारी छैन ।

हुप्रचौरलाई खेलकुदको लागि मात्र प्रयोग गर्ने निर्णयपछि यहाँ जिल्ला लिग फुटबललगायत विभिन्न क्लबका फुटबल प्रतियोगिता, मेयरकप प्रतियोगिता तथा खेलकुदको प्रशिक्षण कार्यक्रम हुँदै आएको थियो । हुप्रचौरको यो अवस्थाको बारेमा कुरा गर्दा यिनै प्रतियोगिता आयोजना गर्ने खेलकुद क्षेत्रका संस्थाहरु उपमहानगरपालिकाको नाम लिँदै पन्छिएका छन् । समग्र खेलकुद क्षेत्रको विकास गर्ने जिम्मेवार निकाय मकवानपुर जिल्ला खेलकुद विकास समितिले समेत हेटौंडा उपमहानगरपालिकाको स्वामित्वमा रहेकाले खेलकुदले केही गर्न नमिल्ने जनाएको छ ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल (खुसराज)ले हुप्रचौरमा खेलकुदलगायतका कुनैपनि कार्यक्रम गर्नुपर्दा हेटौंडा उपमहानगरपालिकाले निर्णय लिने भएकाले सरसफाइ गर्ने काम पनि उपमहानगरपालिकाले गर्नुपर्ने बताउनुभयो । उपमहानगरपालिकाको निर्णयबिना खेलकुद विकास समितिले समेत केही गर्न नमिल्ने उहाँको भनाई छ । यस्तै मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानुकुमार लामाले खेलकुद विकास समितिसँग बजेट अभाव तथा सरसफाईका लागि आवश्यक स्रोत साधनको अभाव रहेकाले सरसफाई नभएको जानकारी दिनुभएको छ । हुप्रचौरमा झारहरु निकै ठूलो बुट्यानको रुपमा फैलिसकेकाले यसलाई काट्नका लागि ठूलो खालको मेशिनको आवश्यकता पर्ने उहाँले बताउनुभयो ।

यसै विषयमा हेटौंडा उपमहानगरपालिका भने कोरोना संक्रमणको कारण देखाएर पन्छिएको छ । कोेरोना संक्रमणका कारण मान्छे जम्मा गर्न नमिल्ने भएकाले सरसफाई गर्न नभ्याइएको हेटौंडा उपमहानगरपालिकाका मेयर तथा नगर विकास समितिका अध्यक्ष हरिबहादुर महतको भनाई छ । हुप्रचौरलाई किन बेवास्ता गरिएको भन्ने प्रश्नमा मेयर महतले बेवास्ता गरिएको नभएर नभ्याएको र कोरोनाको कारण सरसफाईको काम लगाउन नमिलेको बताउनुभयो । उहाँका अनुसार केही ढिला भएपनि अहिले उपमहानगरपालिकाले झाडी फाँड्न सुरु गरेको छ । तर जति सफा गरेपनि झार व्यापकरुपमा आएको भएर उपमहानगरपालिकाले राम्रो झार काट्ने मेशिन ल्याएर सफा गर्ने उहाँले जानकारी दिनुभयो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले अब चाँडै नै हुप्रचौरको सरसफाई गर्न सुरु गरिने बताउनुभएको छ । केही दिनअगाडि नगर खेलकुद विकास समितिको वार्षिकोत्सवकोे अवसरमा हुप्रचौर सरसफाई गर्न सुर गरिएको भएपनि झार काट्ने मेशिन बिग्रिएकाले सरसफाई कार्यक्रम रोकिएको उहाँले बताउनुभयो । मेशिन बनाउने र नयाँ मेशिन ल्याउने तयारी भइरहेकाले मेशिन उपलब्ध भएपछि सरसफाई गरिने उहाँको भनाई छ ।

हुप्रचौरमा झाडी भएकै कारण नियमितरुपमा हुने फुटबल प्रशिक्षणहरुसमेत फरेष्ट्री मैदानमा हुन थालेको छ । वन विज्ञान अध्ययन संस्थानको स्वामित्वमा रहेको फरेष्ट्री मैदान अहिले पनि सफा नै हुँदा सबैले प्रयोग गर्ने हुप्रचौरको यो दुर्दशाको जिम्मेवार उपमहानगरपालिकामात्र नभएर हामी पनि रहेको एफसी विजय युथका अध्यक्ष सुदिप राजवाहकले बताउनुभयो । सफा हुँदा चौर प्रयोग गर्ने हामीले सरसफाई गर्न पनि अगाडि बढ्नुपर्ने उहाँको भनाई छ ।

हाल विजय युथ क्लब सी डिभिजन लिग छनोटको तयारीमा रहेकाले छनोट प्रतियोगिता सकेर आउँदा पनि हुप्रचौर सफा नभएमा क्लबले नै सरसफाई अभियान सुरु गर्ने उहाँले बताउनुभएको छ । उहाँले हुप्रचौर हामी सबैको साझा सम्पत्ति रहेकाले यसलाई सबै मिलेर सरसफाई गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।