बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकार आधिकारिकरुपमा आइतबारबाट अल्पमतमा परेको छ । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीले आधिकारिकता पाएसँगै मुख्यमन्त्री शाक्यको सरकार अल्पमतमा परेको हो ।

निर्वाचन आयोगले नेकपा एमालेका १३ सांसदहरु समाजवादीमा भएको पत्र आइतबार प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत समाजवादीको संसदीय दलको विधानसमेत दर्ता गरिएको छ । यस्तै संसदीय दलको आइतबार बसेको पहिलो बैठकको निर्णय मुख्यमन्त्री कार्यालयमा समेत दर्ता भएको नेकपा एकीकृत समाजवादीका सांसद माधव पौडेलले बताउनुभयो ।

यसअघि बागमती प्रदेशमा नेकपा एमालेको ५६ सांसद थिए । आइतबारबाट नेकपा एमालेको ४३ सांसदमा सिमित भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतको र अविश्वासको प्रस्ताव आए त्यसको पनि सामना गर्ने बताउनुभएको छ । मुख्यमन्त्री शाक्यले आइतबारबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो । प्रदेश सरकारमा अहिलेसम्म समाजवादी पार्टी रोज्नेहरुले अधिकारिकता पाएको उहाँको भनाई छ ।

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा त्यसको एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ । मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन एक महिना लाग्ने हुँदा विपक्षी दलहरुले छोटो विधिबाट सरकारलाई हटाउने तयारी गर्ने नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राजेन्द्र पाण्डेले बताउनुभयो ।

गठबन्धनको निर्णयअनुसार आफू नै बागमती प्रदेशको मुख्यमन्त्री बन्ने उहाँले बताउनुभयो । बागमती प्रदेशमा नेपाली कांग्रेस, माओवादी र समाजवादीको दलको बैठक बसेर अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । तर प्रदेशका मुख्यमन्त्री फाइनल नहुँदा अविश्वासको प्रस्ताव ल्याउन केही दिन ढिला हुने देखिएको हो ।

अहिले प्रदेशमा नेकपा एकीकृत समाजवादीका १३, माओवादीका २३ र नेपाली कांग्रेसका २२ सांसद छ । यसअघि बागमती प्रदेशको मुख्यमन्त्री बन्नेमा राजेन्द्र पाण्डेको मात्रै चर्चा थियो । तर बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलको नेता ईन्द्रबहादुर बानियाँले पनि आफ्नो लबिङ गरिरहनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवानिकटका बानियाँ मुख्यमन्त्री बन्ने तरखरमा हुनुहुन्छ । मुख्यमन्त्रीमा बानियाँको दाबी भएसँगै प्रदेशमा समाजवादीले मुख्यमन्त्री पाउने सम्भावना कम देखिएको छ । संघीय गठबन्धनको सरकारले बागमती प्रदेशको मुख्यमन्त्री फाइनल गरेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकार ढल्ने भएको हो ।

बागमती प्रदेशमा यही भाद्र २ गते मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यले सपथ लिनुभएको थियो । उहाँले पहिलो पटक ३ सदस्यीय मन्त्रिपरिष्द विस्तार गर्नुभएको थियो । यसैगरी उहाँले भाद्र २३ गते १२ जनाको मन्त्रिपरिष्द विस्तार गर्नुभएको हो । ६ जना मन्त्री र ४ जना राज्यमन्त्री उहाँले नियुक्त गर्नुभएको थियो । बागमती प्रदेशको मुख्यमन्त्री शाक्यले आफू निकटका केहीलाई प्रदेश नीति तथा योजना अयोगको उपाध्यक्ष र सदस्यमा नियुक्त गर्नुभएको छ । उहाँले राजनैतिक नियुक्ति दिएर सत्ता लम्ब्याउन खोजे पनि एक महिनाभित्र उहाँको मुख्यमन्त्री पद जाने सम्भावना बढेको हो ।

शाक्य माधव नेपालको साथ छाड्दै एमाले अध्यक्ष केपी ओलीको सांसदहरुको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । यसअघि केपी ओलीको चर्को विरोध गर्दै उहाँको नेतृत्वमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेललाई अविश्वासको प्रस्ताव ल्याइएको थियो । देशकै पहिलो महिला मुख्यमन्त्री बनेर चर्चा बटुल्नु भएका शाक्यले राजीनामा दिएर बहुमत दलको हैसियतले फेरि मुख्यमन्त्रीमा दाबी गर्ने संकेत देखिएको छ । शाक्य अहिले संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्रीमा बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बन्नुभएको छ । तर १३ जना सांसदले एमाले छोडर समाजवादी बनेसँगै उहाँ अल्पमतमा पर्नुभएको हो ।