हेटौंडाः जनसाहित्यिक मञ्च बागमती प्रदेशको संयोजकमा मकवानपुरका साहित्यकार मसान उपासक चयन हुनुभएको छ । जनसाहित्यिक मञ्च नेपालको शनिबार सम्पन्न भएको भर्चुअल भेलाले उपासकलाई केन्द्रीय सचिवालय सदस्य चयन गर्दै प्रदेशको संयोजक तोकेको हो ।
जनसाहित्यिक मञ्च नेपालको अघिल्लो पटक पनि केन्द्रीय सदस्य रहेका उपासकसहित मकवानपुरका दुई जनाले यो पटक केन्द्रमा स्थान पाउनुभएको छ । उपासक केन्द्रीय सचिवालय सदस्य चयन हुनुहुँदा मकवानपुरका सुनिल गौतम केन्द्रीय सदस्य चयन हुनुभएको छ । शनिबारको भेलाबाट ६ प्रदेशका संयोजकसहित १ सय ५ सदस्यीय केन्द्रीय समिति पनि चयन गरिएको छ ।
भेलाले राम बिनयको संयोजकत्वमा १ सय ५ सदस्यीय केन्द्रीय आयोजक समिति, २५ सदस्यीय सचिवालय सदस्य तथा ११ सदस्यीय कार्यालय समिति गठन गरेको छ । भेलाले बागमती प्रदेशमाउपासकसहित प्रदेश १ मा रमेश शुभेच्छुक, गण्डकी प्रदेशमा सुवास मल्ल, लुम्बिनी प्रदेशमा हरि तिमल्सिना, कर्णाली प्रदेशमा दीपक गौतम र सुदूरपश्चिम प्रदेशमा रामचन्द्र जोशीलाई संयोजक चयन गरेको छ । प्रदेश २ मा भने केही समयपछि संयोजक तोकिने बताइएको छ ।
बागमती प्रदेश कमिटीमा संयोजक मसान उपासकसहित धादिङका प्रकाश सापकोटा, ललितपुरका सुस्मिता नेपाल, मकवानपुरका गणेश तिमल्सिना, चितवनका अम्बिका कार्कीलाई सदस्यमा चयन गरिएको छ । नेकपाको दुई साहित्यिक संस्थाको एकताको समयमा पनि संयोजक रहनुभएका उपासक मकवानपुरमा रहेर लामो समयदेखि साहित्य तथा पत्रकारिता क्षेत्रमा क्रियाशील रहनुभएको छ ।