हेटौंडाः आज आइतबारबाट मकवानपुरका शैक्षिक संस्थाहरु खुल्ने भएको छ । मकवानपुरका अतिरिक्त कक्षा सञ्चालन गरिरहेका संघसंस्थालगायत विद्यालय र क्याम्पसहरु आजबाट सञ्चालनमा आउँदैछ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले जिल्लाका स्थानीय तहको स्वीकृतिमा शिक्षण संस्थाहरुले विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुचारु गर्नसक्ने निर्णय गरेपछि विद्यालय सञ्चालन गर्न लागिएको हो । अन्य स्थानीय तहको तुलनामा जोखिम बढी रहेको हेटौंडा उपमहानगरपालिकामा पनि विद्यार्थीको भौतिक उपस्थितिमा आजबाट विद्यालय सञ्चालनमा आउँदैछ ।
उपमहानगरभित्र ७७ वटा सामुदायिक र ४६ वटा निजी विद्यालय रहेका छन् । उपमहानगरपालिका भित्रका विद्यालयहरुलाई उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा पेश गर्न निर्देशन दिएकोमा करिब ७५ प्रतिशत विद्यालयले मात्र कार्यढाँचा पेश गरेको हेटौंडा उपमहानगरपालिकाका शिक्षा अधिकृत रामचन्द्र खड्काले जानकारी दिनुभयो । कार्यढाँचा पेश गरेका विद्यालयहरु सञ्चालनमा आउने उहाँले बताउनुभयो । भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्दा विद्यालय र शिक्षकले पालना गर्नुपर्ने आचारसंहिता निर्माण गरी एक हप्ताभित्र कार्यढाँचा पेश गर्न आग्रह गरिएको थियो ।
हेटौंडा—१३, पदमपोखरीमा रहेको फेमकल एकेडेमीले विद्यालयमा स्वास्थ्य मापदण्ड कायम गरी आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्था गरिने कार्यढाँचामा उल्लेख गरिएको छ । शिक्षकहरुले दैनिकरुपमा स्वास्थ्य अवस्थाको ख्याल गरी सिकाई सहजीकरण गरिने कुरा कार्यढाँचामा उल्लेख गरिएको उहाँले बताउनुभयो । विद्यार्थीका हकमा भने विद्यालयमा अनावश्यक भिडभाड हुन नदिने, मास्क अनिवार्य, आँखा, नाक, मुखमा हातले नछुनेजस्ता नियमहरु पालनामा जोड दिएको छ ।
यसैगरी हेटौंडा—९, पशुपतिनगरमा रहेको हेटौंडा मोर्डन इङ्गलिस आवासीय माध्यमिक विद्यालयले कक्षागत जोरबिजोर प्रणालीअनुसार विद्यालय सञ्चालन गर्ने भएको छ । बिरामीको लक्षण भएकालाई प्रवेशमा रोक लगाइने हेटौंडा मोर्डनको कार्यढाँचामा उल्लेख गरिएको शिक्षा अधिकृत खड्काले जानकारी दिनुभयो ।
हेटौंडा—१० स्थित सोलिड्यारी इन्टरनेशनल एकेडेमीले पनि स्वाथ्य मापदण्ड पालना गरी विद्यार्थी संख्याको आधारमा भौतिक उपस्थितिमा पठनपाठन गरिने कार्यढाँचा पेश गरेको छ । प्रायः संस्थागत विद्यालयहरुले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई तत्काल भौतिक उपस्थिति गराएर पठनपाठन नगराउने कार्यढाँचा तयार गरेको खड्काले बताउनुभयो ।
साना कक्षाका विद्यार्थीका लागि वैैकल्पिक शिक्षण सिकाईअन्तर्गत् सञ्चालनमा गरिरहेको अनलाइन कक्षालाई नै निरन्तरता दिने विद्यालयहरुले जानकारी दिएका छन् । आधारभूत तहका माथिल्ला कक्षाहरु र माध्यमिक तहका विद्यार्थीलाई पहिला भौतिक उपस्थितिमा पढाइ आगाडि बढाउने र परिस्थितिअनुसार कक्षा १ देखि १० सम्मकै पढाइ भौतिक उपस्थितिमा गर्ने कार्यढाँचा धेरैजसो निजी विद्यालयहरुबाट पेश भएको हेटौंडा उपमहानगरपालिकाका शिक्षा अधिकृत खड्काले बताउनुभयो ।
मकवानपुर जिल्लाका १० वटा स्थानीय तहमध्ये गत आइतबारदेखि बागमती गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका विद्यालयहरुमा भौतिक उपस्थितिमै पढाइ सुरु भइसकेको छ । कोभिड—१९ को संक्रमणको रोकथामका लागि बन्द गरिएका तथा क्यारेन्टिन वा आइसोलेशन सेन्टरको रुपमा प्रयोग भएका विद्यालयहरुको सञ्चालनका प्रक्रियागत विषयमा प्रष्ट मार्गनिर्देशित गर्ने उद्देश्यले कार्यढाँचा पेश गर्न पालिकाहरुले अनुरोध गरेका थिए । मकवानपुरमा ४ सय ९९ विद्यालय रहे पनि उपमहानगर भित्रकै पनि २५ प्रतिशत विद्यालयले कार्यढाँचा पेश गरेका छैनन् ।
स्थानीय तह एवम् विद्यालयहरुले विद्यालय सञ्चालनपूर्व गर्नुपर्ने तयारी, विद्यार्थी भर्ना, विद्यालय सञ्चालन एवम् शिक्षण सिकाई व्यवस्थापन तथा स्थगित परीक्षा सञ्चालनका सन्दर्भमा गर्नुपर्ने मुलभूत कार्यहरुलाई व्यवस्थित बनाउनका लागि कार्यढाँचाले सहयोग पुग्ने खड्काले बताउनुभयो । यस्तै, स्थानीय परिस्थितिको विश्लेषणका आधारमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने विषयमा निर्णय गर्न आधार प्रदान गरी कोभिड—१९ को संक्रमण र जनस्वास्थ्यको दृष्टिले सुरक्षित विद्यालय सञ्चालन गर्न दिशानिर्देशित गर्ने उहाँले बताउनुभयो ।