राजनीतिमा मात्र हैन, विकास निर्माणमा समेत नेतृत्व विभाजित हुँदै आएको छ । आफू अनुकूल नभए भाँड्न पनि तयार हुने नेतृत्वको प्रवृत्तिले नेपाल दलदलमा फस्दै गएको छ । देश र जनताका लागि बन्नुपर्ने विकास योजनासमेत वर्ग, समुदाय र नेतृत्वको स्वार्थका लागि प्रयुक्त बनाउने गर्दा देश अविकासको अवस्थाबाट गुज्रन बाध्य छ । नेपालभन्दा धरै अविकसित राष्ट्रहरुले फड्को मारेको धेरै भइसक्यो, तर नेपाल जहाँको तहीँ घिस्रिरहेको छ । तर पनि नेतृत्व वर्गले कुनै पश्चाताप गरेको छैन । बरु आफूमात्र ठिक र अरुले गरेका सबै काम गलत भएको दावी गर्नमै समय खर्चने प्रवृत्ति छ । आफूबाहेक सबै गलत भन्ने चिन्तनबाट मुक्त नहुँदासम्म देशमा विकासको गति बढ्ने देखिँदैन ।
विकासको पहिलो आधार नै सडक सञ्जालको विस्तार हो । सडक पुगेपछि बाँकी विकासका आयामहरु थपिँदै जानेछन् । मकवानपुरमा विशेषगरी हेटौंडा बजार क्षेत्रमा दायाँबायाँ २५ मिटरको कुराले लामो समयसम्म निकास पाउन सकेको छैन । जिल्लाको नेतृत्व नै सडक विस्तारमा विभाजित छ । आफूलाई अनुकूल हुँदा एउटा र प्रतिकूल हुँदा अर्को कुरा गर्ने राजनीतिक नेतृत्वको दोहोरो चरित्रले हेटौंडा बजार झाप्रे शहरका रुपमा यथावत छ । मुख्य बजार क्षेत्रबाट सडक विस्तार गर्न हुने र नहुने विवादका कारण योजनाले मूर्तरुप लिन सकेको छैन । विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुने सडक आयोजनाले काम सुरु गर्नका लागि कार्यक्षेत्रमा आउने अवरोध न्यूनीकरण गर्नका लागि राज्यले पहल लिनु आवश्यक छ ।
हेटौंडामा निर्वाचनको समयमा उठ्ने सडक विस्तारको कुरा यसपटक फेरि चर्चामा छ । केही दिन पहिला हेटौंडा उपमहानगरपालिकाका मेयरले प्रधानमन्त्री तथा सरोकारवाला मन्त्रालयमा सडक विस्तारका लागि ध्यानाकर्षण गराएपछि दुई प्रकारका विचारहरु अघि आएका छन् । आम नागरिक तहबाट मेयरको पहललाई सकारात्मक भन्दै प्रशंसा भएको छ भने विस्तारबाट सम्पत्ति नोक्सान हुने समुदाय बिरोधमा देखिएको छ । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व यसपटक पनि सडक विस्तारको विपक्षमा देखिएको छ । संघअन्तर्गत्को हेटौंडा बसोबास संरक्षण मूल समितिले मुख्य बजार क्षेत्रबाट सडक विस्तार रोक्न अभियान नै सुरु गरेको छ ।
मेयरको सक्रियतामा बसोबास संरक्षण समितिले बिरोध अभियान सञ्चालन सुरु गरेको छ । जिल्लाका जनप्रतिनिधिलाई समेत सहभागी गराएर पत्रकार सम्मेलन गरेको छ । समितिले सडक विस्तारको विकल्प खोज्नुपर्दछ भन्ने विचार राख्ने सांसदहरुलाई समेत बोल्न लगाएको छ । लामो समयदेखि यो विषय राजनीतिक नाफा नोक्सानका रुपमा उपयोग हुने गरेको छ । मुख्य बजार क्षेत्रमा वैकल्पिक मार्ग खोजी हुनुपर्ने कुरा स्वभाविक हो । तर प्राविधिक पक्ष के हो भन्ने स्पष्ट हुनुपर्दछ । हेटौंडा बजार क्षेत्र अत्यन्त साँघुरो भएको छ । राजमार्ग नै नबनाए पनि सडक विस्तार आवश्यक भइसकेको छ । तर राजनीतिक जोडघटाउमा नेताहरु लाग्दा अझै कति बर्षसम्म हेटौंडा कुरुप अनुहारमा बस्नुपर्ने हो ? तसर्थ जनप्रतिनिधिहरुबीच एकैमत बनाई विकास योजना अघि बढाउन अब ढिला गर्नुहुँदैन ।