हेटौंडाः सिमान्तकृत चेपाङ समुदायको छोनाम (न्वागी) पर्वमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले आज मंगलबार गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएको छ । भदौ २२ गते चेपाङ समुदायको महत्वपूर्ण पर्व छोनाम (न्वागी) पर्दछ ।
न्वागी पर्वका दिन चेपाङ बाहुल्य क्षेत्र भएकाले राक्सिराङमा सार्वजनिक बिदा दिइएको छ । बागमती प्रदेश सरकारले गाईजात्राको दिन बागमती प्रदेशमा सावर्जनिक बिदा दिए पनि चेपाङ समुदायको पर्वमा बिदा नदिएकोमा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आपत्ति जनाउनुभएको छ । उहाँले प्रदेशमा चेपाङ बस्ती भएको हुँदा बिदा दिनुपर्ने भन्दै प्रदेश सरकारको ध्यानकर्षणसमेत गराउनुभएको छ ।
यो वर्ष नेपाल चेपाङ संघले छोनाम पर्व राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा सामूहिक रुपमा मनाउन लागेको छ । गाउँपालिकाका अध्यक्ष मल्लले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन आग्रह गर्नुभएको छ ।