नेपालको लोकतान्त्रिक आन्दोलनको अगुवा राजनीतिक दल नेपाली कांग्रेस यतिबेला १४ औं महाधिवेशनको सुरुवाती चरणमा छ । शुक्रबारदेखि देशभर सुरु भएको वडा अधिवेशनको कार्यक्रम आइतबार मकवानपुरका एक सय दुईवटा वडामा भएको छ । अधिकांश वडामा अधिवेशन सौहाद्र्ध वातावरणमा सम्पन्न भएका छन् । पार्टीको नेतृत्व हासिल गर्ने, विभिन्न पदमा रहेर जिम्मेवारी निर्वाह गर्ने अवसर समेत भएकाले महाधिवेशनमा नेता, कार्यकर्तामा उत्साह देखिन्छ । देश संघीय संरचनामा गइसकेपछि संघ, प्रदेश र स्थानीय तीनै तहमा प्रसस्त राजनीतिक अवसर रहनुले नेता, कार्यकर्तामा पार्टीको महाधिवेशनप्रति उत्साह बढेको हो ।

पछिल्लो समय नेपाली कांग्रेसको प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेमा आएको फुटका कारण पनि कांग्रेस नेता, कार्यकर्ताले पार्टी निर्माण र लगत्तै हुने तीनै तहको निर्वाचनलाई लक्षित गरी ध्यानपूर्वक अधिवेशनको प्रक्रियामा अग्रसर भएको पनि देखिन्छ । वडा समिति र क्षेत्रीय प्रतिनिधि चयनमा देखिएको सौहाद्र्धता पालिका, प्रदेश र संघीय संरचनासम्म जाँदा देखिन्छ या देखिन्न त्यसले नेपाली कांग्रेसको भावी समयको आधार निर्धारण गर्नेछ । २०७६ साल फागुन महिनामै हुनुपर्ने कांग्रेसको महाधिवेशन कोभिड–१९ महामारीका कारण ढिलो भएको हो । कोभिड–१९ महामारीसँगै नेतृत्वको अनुकुलताको लेखाजोखाका कारण पनि कांग्रेस महाधिवेशन प्रभावित बन्दै आएको छ ।

यतिबेला भने नेपाली कांग्रेसले कोभिड–१९ महामारीको जोखिमकै बीच बाध्य भएर अधिवेशन सुरुवात गरेको छ । अधिवेशन सुरुवात नगरे आइपर्ने संवैधानिक संकटबाट बच्न पनि भदौ १८ गतेबाट नेपाली कांग्रेसले महाधिवेशनको प्रक्रिया सुरुवात गरेको हो । पार्टीलाई प्रभावकारी र प्रणालीमा आधारित बनाउन नसक्दा नेपालमा राजनीतिक दलहरु सधैं कमजोर र जोखिमपूर्ण अवस्थामा रहिरहेका छन् । २०७४ सालको निर्वाचनबाट तीनै तहमा शक्तिशाली बहुमतको सरकार गठन गर्ने जनमत पाएको तत्कालिन नेकपा अन्ततः छिन्नभिन्न भएको परिस्थिति छ । नेकपा छिन्नभिन्न भएकै कारण कल्पना त के अनुमान समेत नगरेको नेकपा सरकार ढलेको छ, प्रदेशमा पनि सरकार फेरबदल भएको छ । स्थानीय तहहरुमा पनि निक्कै उतारचढावको स्थिति छ । नेकपामा आएको हलचलकै कारण अहिले नेपाली कांग्रेस नजिकिँदै गरेको निर्वाचनबाट राम्रो जनमत प्राप्त हुने अपेक्षाका साथ उत्साहित बनेको छ । यद्यपि नेतृत्वमा देखिएको दावेदारीले प्रणालीमा नरहेको नेपाली कांग्रेस पनि नेकपा पथमै अग्रसर नहोला भन्न सकिन्न । मकवानपुरमा मात्रै नभएर देशभर नै नेपाली कांग्रेसको क्रियाशील सदस्यताको बढ्दो आकर्षणलाई व्यवस्थित रुपमा सम्बोधन गर्ने गरी पार्टीलाई विधानसम्मत प्रणालीमा स्थापित गर्न नेतृत्वले ध्यान दिनै पर्छ ।

नेपाली कांग्रेस एउटा राजनीतिक दल मात्रै नभएर नेपालमा नागरिक शासन स्थापनाका लागि अगुवाई गर्ने इतिहासको एउटा खम्बा पनि हो । कांग्रेसका नेता, कार्यकर्ताले आजको वस्तुस्थितिलाई मात्रै हेरेर जोडघटाउ या लाभहानीका कुरा गर्नु हुन्न । हिजो पुर्खाका योगदान, आजको अवस्था, भोलिको विश्व समुदायसँग नेपालले निर्वाह गर्नुपर्ने भूमिकालाई समेत आँकलन गरेर जारी महाधिवेशनलाई कांग्रेसले वृहत्तर हितमा काम गर्न सक्ने सक्षम नेतृत्व चयन गर्न सक्नुपर्छ । जनतासँग प्रत्यक्ष जोडिने वडा समिति चयन भइसकेको छ भने वडाको प्रतिनिधित्व गर्दै क्षेत्रीय प्रतिनिधि बनेर पार्टीको पालिका, प्रदेश र संघीय संरचना निर्माणमा सहभागी हुने समूहको काँधमा कांग्रेसको नेतृत्व होइन, मुलुक हाँक्ने सक्षम नेतृत्व चयन गर्ने अवसर छ । वडा अधिवेशनमा देखिएको उत्साहलाई सक्षम नेतृत्व चयन गर्ने अवसरको रुपमा सार्थक तुल्याउनु कांग्रेसजनको जिम्मेवारी हो ।