हेटौंडाः मानव बेचबिखन तथा ओसारपसारबिरुद्धको १५ औं राष्ट्रिय दिवसको अवसरमा आइतबार अन्तरक्रियाको आयोजना गरिएको छ । ‘‘मानव बेचबिखन मुक्त समाज, हाम्रो प्रतिबद्धता सबैको प्रयास र ऐक्यबद्धता’’ भन्ने नाराका दिवस मनाइएको हो । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजना तथा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन बिरुद्धको सञ्जाल मकवानपुरको समन्वयमा अन्तरक्रिया भएको हो ।

बागमती प्रदेशका १३ वटै जिल्लाका सरोकारवालासँग भर्चुअल अन्तरक्रिया भएको हो । बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध प्रहरीको भूमिकाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने शक्ति समुहकी चरिमाया तामाङ्ले मानव बेचबिखन बिरुद्ध कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सञ्जालका सदस्य एवम् बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध नागरिक समाजको भूमिका र नेपालको कानुनी व्यवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
यस्तै आइतबार दिउँसो हेटौंडा–१० बसपार्कमा पनि जनचेतनामूलक कार्यक्रम गरिएको छ । जनचेतनामूलक कार्यक्रममा पर्चा तथा स्टिकर वितरण गरिएको थियो । कार्यक्रममा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयकी महिला विकास अधिकृत चन्द्रकुमारी व्यञ्जनकार, जनस्वास्थ्य अधिकृत सन्तोषी पौडेल, सञ्जालकी संयोजक आरती पाठक, सहसंयोजक माया लामा लगायत सञ्जालका सदस्यहरुको उपस्थिति रहेको थियो ।