तस्बिरः गुगल ।

हेटौंडाः मकवानपुरको सुरक्षा निगरानीका लागि प्रयोग गरिने सीसी टिभी
क्यामेराहरु अहिले धेरैजसो नचलेको पाइएको छ । सुरक्षाका दृष्टिकोणले
संवेदनशील मानिने जिल्लामा शहरका मुख्य सडक र चोकहरूमा जडान गरिएको सीसी
टिभी क्यामेरा चट्याङ, अनियमित विद्युत् आपूर्ति र मर्मत नगर्नाले अहिले
धेरैजसो चालु अवस्थामा छैनन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका विभिन्न मुख्य सडकखण्ड र चोकहरुमा
प्रहरीको निगरानीमा जडान गरिएको ५८ वटा सीसी क्यामेराहरुमध्ये ३८ वटा
बिग्रिएर नचलेको अवस्था छन् भने २० वटामात्र चालु अवस्थामा छन् । यस्तै
भीमफेदी गाउँपालिकामा ६ वटा नचलेको र ५ वटा चलेको, मनहरी गाउँपालिकामा
७ वटा नचलेको र ८ वटा चलेको एवम् थाहा नगरपालिकामा ५ वटा नचलेकोे र २
वटा मात्र चलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

व्यक्तिगत सुरक्षा प्रयोजनबाहेक प्रहरीको निगरानीमा रहेका ५७ वटा सीसी
क्यामेराहरु बिग्रिएर नचलिरहेकोे र ३३ वटा चलिरहेको अवस्थामा छ । सीसी
क्यामेरा जडान नगर्दा सडकबाटै सवारी साधनहरु चोरी हुने, प्रहरीको चेकिङ
हुँदा छलेर भाग्ने, गल्ली–गल्लीबाट सवारी साधनहरु चलाउने, चोरी गर्ने र
लुट्नेजस्ता घटनाक्रम मकवानपुरमा बढिरहेकोे छ ।

अपराध नियन्त्रण र प्रमाण संकलनको भरपर्दो माध्यमको रुपमा रहेको सीसी
क्यामेराहरु बिग्रिएर नचल्दा सुरक्षामा चुनौती बढ्दै गएको जिल्ला प्रहरी
कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले
बताउनुभयो । हेटौंडा उपमहानगरपालिकामा मात्र करिब १ सय वटा सीसी क्यामेरा
जडान भयो भने उपमहानगरपालिकामा सजिलै अपराध नियन्त्रण र प्रमाण संकलन गर्न
सकिने प्रहरी प्रवक्ता रिमालको भनाई छ । सीसी क्यामेरा हुँदा कुनै पनि
घटनाको अनुसन्धान, विश्लेषण गर्न सीसी क्यामेरामा रेकर्ड हुने भएकाले
सजिलो हुने उहाँले बताउनुभयो ।

अहिले जिल्लामा मुख्य राजमार्ग र चोकहरुमा समेत सीसी क्यामेरा नभएको र केही
स्थानहरुमा भएको पनि बिग्रिएपछि मर्मत नगर्नाले प्रहरीलाई चुनौतीसमेत
बढेको छ । स्थानीय सरकारले यस्ता विषयलाई गम्भीरताका साथ लिई मुख्य
राजमार्ग र चोकहरुमा सीसी क्यामेराहरु जडान गरी दिगो बनाउन ध्यान दिनुपर्ने र
बजेट छुट्याएर सीसी क्यामेराको मात्रा बढाउनुपर्ने प्रहरी प्रवक्ता रिमालले
जोड दिनुभयो ।