भौतिक सुखको खोजीमा भौंतारिने आजको युवा पुस्ताले मानवसेवामा समर्पित भएर देशमै उदाहरणीय काम गरेको बिरलै भेटिन्छन् । मानवसेवामा समर्पित संस्थामध्येको मानवसेवा आश्रमले आफूलाई समाजको स्थापित सदस्यका रुपमा उभ्याउन सफल भएको छ । यसमा आवद्ध स्वयम्सेवीहरु प्रायः युवाहरु नै छन् । केही युवाहरु हेटौंडामा आएर सुरु गरेको मानवसेवा आश्रमले आफ्नो उमेरसँगै सामाजिक हैसियत पनि वृद्धि गर्दै आएको छ । मानवको सेवा गर्न स्थापना भएको आश्रम ९ वर्ष पूरा भई १० औं वर्षमा प्रवेश गरेको छ । सहयोेगापेक्षी सडक आश्रित मानवमुक्त गर्ने उद्देश्यले स्थापना भएको संस्था आज देशव्यापी बन्दै गएको छ । असल कामको सुरुवात जहाँ र जसले गरे पनि सामाजिक आवश्यकता हुनेरहेछ भन्ने उदाहरण मानवसेवा आश्रम बनेको छ ।

आश्रमले ९ बर्षको अवधिमा देशभर १६ जिल्लाका २२ वटा केन्द्रबाट सडक मानवको उद्दार गरिरहेको छ । देशका विभिन्न भागबाट हालसम्म सडकमा आश्रित ५ हजार ८ सय ५२ जनाको उद्दार गरेको छ । २ हजार २ सय ३१ जनाको सुखद् पारिवारिक पुनर्मिलन गराउन आश्रम सफल भएको छ । मानवसेवा आश्रममा उद्दार गरेर ल्याएकामध्ये ५ सय ५४ जनाको मृत्यु भएको छ । विभिन्न कारणबाट सडकमा आउन बाध्य बृद्धबृद्धा, रोगी, अशक्त, परिवार तथा समाजबाट परित्याग गरिएपछि सडक पेटीमा कष्टकर जीवन बिताउन बाध्य भएका नागरिक राज्यको जिम्मेवारी हो । तर मानवसेवा आश्रमले ठूलो जिम्मेवारी आफ्नो उद्देश्य बनाएर काम गरेको छ । राज्यले नसोचेको र नगरेको काम एउटा सामाजिक संस्थामार्फत् हुँदै आएको छ ।

मानवसेवा आश्रमले अभियान सञ्चालन गर्दा बेसहारा बनेका नागरिक अनेक नामबाट पीडित बन्दै सडकमै बस्ने र सबैको छीछी र दुरदुरको अवस्थामा थिए । तर राज्यका निकायहरुबाट कहिँकतै सुनुवाई र स्याहारको प्रबन्ध हुनसकेको थिएन । विभिन्न जिल्लाहरुमा सञ्चालन भएका बृद्धाश्रमहरुले पनि सडक पेटीबाट उद्दार गर्ने काम गरेका थिएनन् र आज पनि छैनन् । आफूखुशी पुग्नेहरुलाई मात्र आश्रय दिने त्यस्ता आश्रमका लागि समेत मानवसेवा आश्रम नयाँ कार्यक्षेत्रका लागि प्रेरक बनेको छ । सुरुका दिनमा मुठ्ठीदानबाट सञ्चालन भएको आश्रमलाई आम जनतासँगै आज राज्य तथा स्थानीय तहबाट समेत सहयोगको हात बढेको छ । संस्थाको सेवालाई थप प्रभावकारी बनाउन सरकारको सहभागिता अझै थप हुन आवश्यक छ ।

आश्रमले २०८२ सालभित्र देशलाई सडक मानवमुक्त बनाइसक्ने लक्ष्य लिएको छ । यसका लागि विभिन्न जिल्लाहरु सडक मानवमुक्त घोषणा गर्ने अभियानमा स्थानीय तथा प्रदेश सरकारहरुले पूर्ण जिम्मेवारी लिएका छन् । भाडाको घर खोज्दै सञ्चालन गरेको आश्रमको केन्द्रीय कार्यालयको रुपमा हेटौंडामा आफ्नै भवन निर्माण भइसकेको छ । देशभर सुविधासम्पन्न भवनहरु बनिरहेका छन् । संस्थालाई बामे सर्नका लागि हेटौंडाका अगुवा समाजसेवी तथा सहयोगी मनहरुको ठूलो साथ र सहयोग रहँदै आएको छ । जिल्ला हुँदै प्रदेशगतरुपमा सडक मानवमुक्त घोषणा गराउन प्रदेश सरकारहरुले समेत सक्रियता देखाएका छन् । यस्तै अभियानमा यतिबेला सरकारसमेत जोडिएको छ । आश्रमको कार्यक्रमलाई नै सरकारले २०८२ सालसम्म देशलाई नै सडक मानवमुक्त घोषणाको योजना सार्वजनिक गरिसकेको छ । यसरी हेर्दा असल काम जहाँबाट सुरुवात भएपनि राज्यको नै कार्यक्रम बन्नसक्छ भन्ने बलियो उदाहरण मानवसेवा आश्रम हो ।