हेटौंडाः मकवानपुर जिल्लामा भदौ १० गते राति १२ बजेसम्म जारी निषेधाज्ञा १० दिन थप भएको छ । भदौ २० गते राति १२ बजेसम्म निषेधाज्ञा थप भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनुभयो । जिल्लामा कोभिड जोखिम न्यून भएपनि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारीले सवारीमा लागू गरिएको जोर–बिजोर प्रणाली हट्ने, खाद्य तथा गैरखाद्य वस्तु बिक्री गर्ने पसलहरु बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाउने गरी बुधबार आदेश जारी गर्नुभएको छ ।
मकवानपुरको १० वटा स्थानीय तहमा शैक्षिक संस्था सञ्चालन गर्न, स्थानीय तहको वस्तुस्थिति, वैकल्पिक विधि अपनाउन सक्ने क्षमता, सुरक्षा मापदण्ड पालना गर्नसक्ने अवस्थालगायत बुझन् शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख प्रेम खरेलको संयोजकत्वमा एक समिति गठन गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले भदौ १८ गतेसम्म प्रतिवेदन बुझाउने गरी स्थानीय तहका शिक्षा शाखा प्रमुख, प्याब्सन, एनप्याब्सन मकवानपुरका प्रतिनिधि र बाल कल्याण समाज मकवानपुरका प्रतिनिधि सदस्य रहनेगरी समिति निर्माण गरेको हो । समितिले स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाउनुपर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्दा २५ जनाभन्दा बढी भेला नहुने गरी सञ्चालन गर्न आदेश जारी गर्नुभएको छ । २५ जनाभन्दा बढी भएमा सिफ्टवाइज परीक्षा सञ्चालन गर्नुपर्ने, परीक्षा सुरु हुनुपूर्व र सकिएपछि भौतिक दूरी कायम हुने व्यवस्था मिलाउनुपर्ने तथा परीक्षा हलमा प्रत्येक सिफ्टमा निसंक्रमण गर्नुपर्ने भनिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको निषेधाज्ञामा जोखिमयुक्त क्षेत्रहरुलाई अझै खुलाइएको छैन । धेरै भिडभाड हुने र कोभिड संक्रमण बढ्नसक्ने क्षेत्रहरु शैक्षिक क्षेत्र (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र), सबै प्रकारको सभा, गोष्ठी तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जन स्थल, पिकनिक स्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, सैलुन, ब्यूटी पार्लर, स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, स्ट्रिट फुड पसल, खेलकुद र खेलमैदानमा हुने प्रस्तुति र फुटसल पूर्णरुपमा बन्द हुने जनाएको छ । यी क्षेत्रहरु धेरै जोखिमको क्षेत्र भएको हुँदा अझै खोल्न नसकिने प्रशासनले उल्लेख गरेको छ ।
मकवानपुरका अधिकांश होटल तथा रेष्टुरेन्टमा जारी निषेधाज्ञको आदेश पालना भएको पाइँदैन । भदौ १० गतेसम्मको निषेधाज्ञामा स्थानीय प्रशासनले गरेको आदेशको उल्लंघन गर्दै रेष्टुरेन्टहरु सञ्चालन भएका छन् । बाहिरबाट सटर बन्द, भित्र खाजा खानेहरुको भिड हुने गरेको छ । प्रशासनले भदौ ११ गतेबाट रेष्टुरेन्ट, मिठाई पसलहरुले टेकअवे तथा होम डेलिभरी गर्न बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म पाउने भनेको छ । यस्तै प्रशासनले होटलमा कुनै पनि प्रकारको भोज, भतेर, भेला, सम्मेलन, गोष्ठी, तालिम सेमिनार गर्न नपाइने स्पष्ट गरेकोे छ ।
बैंक, इन्स्योरेन्स, मनी ट्रान्सफर, वित्तीय सहकारी संस्थाहरु नियमित सञ्चालन हुने तर वित्तीय सहकारी संस्थाहरुबाट समूह भेला तथा रकम संकलन गर्ने कार्य पूर्णरुपमा बन्द गर्न भनिएको छ । सरकारी कार्यालयहरु भिडभाड नहुने सुनिश्चितता गरेरमात्र सञ्चालन गर्न प्रशासनले आदेश दिएको छ ।