हेटौंडाः हेटौंडा अस्पतालमा १३ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । ११ जना एचडियु कक्षमा र २ जना आइसियु कक्षमा उपचाररत रहेको हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन प्रशान्त विडारीले जानकारी दिनुभयो ।
इमरजेन्सीका बिरामीलाई भने छुट्टै जनरलवार्डमा राखिएको उहाँले बताउनुभयो । उपचाररत संक्रमितहरु मध्ये आइसियुमा उपचार सेवा लिईरहेको १ जनाको भने स्वास्थ्य अवस्था गम्भिर रहेको र बाँकी बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।
यस्तै, हेटौंडा अस्पतालमा कोरोना संक्रमण भई उपचार सेवा लिइरहेका २ जना कोरोना संक्रमित मंगलबार संक्रमण मुक्त भएर घर फर्किएका छन् । सुरक्षाका मापदण्डको पालना र माक्स अभियान कार्यक्रम मकवानपरु जिल्लामा सञ्चालन भइरहने र कोरोना विरुद्धको खोप कार्यक्रम पनि सञ्चालन भइरहेकाले मकवानपुरमा कोरोना संक्रमणदर कम हुदैँ गएको डा. विडारीले बताउनुभयो ।
यस्तै हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा. सागर काफ्ले थप पढाइको सिलसिलामा काठमाडौं गएका कारण कोभिड इन्चार्जको जिम्मेवारी आफुले सम्हाल्दै आएको बिडारीले बताउनुभयो ।