युवा संघ मकवानपुर जिल्ला कमिटीका पदाधिकारीहरु सपथग्रहण गर्दै ।

हेटौंडाः राष्ट्रिय युवा संघ नेपाल, मकवानपुर जिल्ला कमिटीले पूर्णता पाएको छ । शनिबार हेटौंडामा आयोजना भएको नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको भेलाले ३ सय १ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।

भेलाले यसअघि नै चयन भएका राष्ट्रिय युवा संघ मकवानपुरका संयोजक लक्ष्मण उप्रेतीलाई निरन्तरता दिँदै जिल्ला कमिटी घोषणा गर्दै सदस्यहरुलाई सपथग्रहण गराइएको छ । राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष अमित लामाले जिल्ला कमिटी सदस्यहरुलाई पद तथा गोपनीयताको सपथग्रहण गराउनुभएको थियो । शनिबार नै जिल्ला कमिटी सदस्यहरबाट सचिवालय सदस्यसमेत चयन गरिएको छ । यस्तै भेलाबाट मकवानपुरका १० वटै पालिकाका संयोजक पनि तोकिएको छ ।

राष्ट्रिय युवा संघ मकवानपुरका संयोजक लक्ष्मण उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष अमित लामा, नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति मकवानपुरका सभापति रघुनाथ खुलाल, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, जिल्ला कमिटी सचिवालय सदस्य सुनिल मोक्तान, नेपाल खेलकुद महासंघका केन्द्रीय उपमहासचिव धरम लामा, राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य नवीन सुवेदी, केन्द्रीय सदस्यद्वय सानु लामा, नरेन्द्र भण्डारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिव लालबहादुर थापा, जिल्ला सचिवालय सदस्यद्वय नवीन सिग्देल, ध्रुव चौलागाईं, हेटौंडा नगर कमिटी अध्यक्ष शालिकराम पुडासैनीलगायत विभिन्न भातृ संगठनका सदस्यहरुको उपस्थिति रहेको थियो ।