हेटौंडाः हेटौंडा अस्पतालमा एक महिनाको अवधिमा २ सय १२ जना महिलाले प्रसुति गराएका छन् । गएको साउन महिनाभित्र २ सय १२ जनाले प्रसुति गराएको हेटौंडा अस्पतालको प्रसुति वार्डले जनाएको छ ।
बिहीबार पनि अस्पतालमा ९ जना गर्भवती महिला प्रसुतिका लागि भर्ना भएका थिए । ९ जनामध्ये २ जनाको प्रसुति भइसकेको हेटौैंडा अस्पतालका नर्सले जानकारी दिनुभयो । बिहीबार प्रसुति गराउने दुबै महिलाको नर्मल तरिकाले प्रसुति भएको पनि उहाँले बताउनुभयोे ।
प्रसुति सेवाका लागि अस्पतालमा दैनिक १०–१५ जना गर्भवती महिला आउने गरेका छन् । जसमध्ये २० वर्षभन्दा कम उमेरका पनि आउने गरेको अस्पतालको प्रसुतिगृहले जनाएको छ । गएको महिना सुत्केरी भएका २ सय १२ जनामध्ये ३० जना २० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । उनीहरु २० वर्ष पनि नपुग्दै आमा बनेका हुन् ।
कम उमेरमा प्रसुति गराउन आउने महिलाहरुमा प्रसुति हुँदा समस्या हुने, अप्रेसन गर्नुपर्ने आमा र शिशु दुबैमा समस्या देखिने गरेका छन् । साउन २९ गते हेटौंडा अस्पतालमा सुत्केरी भएकी शिखरपानीका माया स्याङ्तानले २५ वर्षको उमेरमा दोस्रो सन्तानको जन्म दिएकी हुन् । उनले पहिलो बच्चा २० वर्षको उमेरमा जन्माएकी हुन् । कक्षा ५ मा पढाइ छोडेर बसेकी मायाले १९ वर्षको उमेरमा विबाह गरेर बच्चा जन्माएकी बताउँछिन् । ‘त्यतिबेला पढ्न मन लागेन, अहिले पछुतो लागिरहेको छ’, मायाले भनिन्– ‘अहिले त आमा भइसकेँ, विभिन्न जिम्मेवारी काँधमा छ । सानो उमेरमा बिहे गर्दा दुःख पाइनेरहेछ ।’
मायाजस्तै धेरै महिलाहरु हेटौंडा अस्पताल प्रसुति गराउन आउने गरेका छन् । गएको महिना सुत्केरी भएका २ सय १२ जनामध्ये २० वर्षभन्दा मुनिको उमेरमा बच्चा जन्माउने प्रायः कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाका रहेका छन् । बालविबाहका कारण विभिन्न समस्या देखिन थालेका छन् । अहिलेको अवस्थामा पनि बालविबाह रोक्न सकिएको छैन ।
बालविबाह हुनुको मुख्य कारण अहिलेकोे अवस्थामा मोबाइलको बढी प्रयोगले गर्दा हो । अहिलेको अवस्थामा सम्पूर्ण बालबालिकाको हातमा मोबाइल दिइएको हुन्छ । जसका कारण बालबालिकाको ध्यान पढाइमा भन्दा अन्य कुरामा जाने र पढाइ छाड्ने, विबाह गर्नेतिर ध्यान जाने गरेकाले अहिलेको अवस्थामा झन बालबिवाह बढ्दै गएको छ ।
बालविबाहका कारण घरेलु हिंसा बढ्ने, सानैमा पढाइ छाडेपछि पढाइ पूरा नहुने, बाल्य अवस्थामा गर्भधारण गर्दा आमा र बच्चा दुबै जोखिममा पर्नसक्छन् । शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पर्छ । शिक्षा तथा सीप सिक्न बाधा पुग्नेदेखि रोजगारीको अवसरबाट वञ्चित हुनपर्नेमात्र नभई आत्महत्याका कारण बालविबाह बन्ने गरेको छ । यस्तै, विबाहले कानुनी मान्यता नपाउने, विवाह दर्ता नहुने, बच्चा जन्मिएपछि जन्मदर्ता गर्न समस्या हुनेजस्ता समस्या हुने कारण बालविबाहको अन्त्य गर्न जरुरी छ ।