हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले नागरिकता र राहदानीसम्बन्धी सेवाहरु हप्ताको रोलक्रमअनुसार सञ्चालन गर्ने भएको छ । नियमित सेवा सुचारु गर्दै आएको प्रशासनले जिल्लामा कोभिड संक्रमण बढ्दै गएको र कार्यालयमा आउने सेवाग्राहीहरुको समेत भिडभाड बढेकाले यस्तो निर्णय गरेको हो ।
जिल्लाका नागरिकहरुले अब प्रतिलिपि नागरिकता र राहदानी बनाउन २०७८ साउन ३१ गते आइतबारदेखि भाद्र ४ गते शुक्रबारसम्म सेवा लिन पाउनेछन् । यस्तै नयाँ नागरिकताका लागि २०७८ भाद्र ७ गते सोमबारदेखि भाद्र १२ गते शुक्रबारसम्म सेवा लिने समय तोकिएको छ । यसैगरी शान्ति सुरक्षा, मुद्धा, विपत् व्यवस्थापनलगायतका अत्यावश्यक सेवा भने नियमित सञ्चालन हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।
पछिल्लो समय जिल्लामा कोरोनाको संक्रमण बढ्दै गएको छ । संक्रमणको जोखिम मकवानपुरमा पनि बढ्दै गएसँगै प्रशासनले निषेधाज्ञालाई पूर्ण कार्यान्वयन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । उहाँले महामारी लामो समयसम्म जाने देखिएकाले जिल्लामा निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिएको बताउनुभयो । जोखिम कायम रहेको भन्दै खोप अभियान समाजसम्म पुर्याइएको उहाँको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निषेधाज्ञा पूर्णरुपमा कार्यान्वयन गराउन स्थानीय तहका प्रमुखहरुलाई आग्रह गर्नुभएको छ । यसैगरी जिल्लामा आइतबारदेखि मालपोत कार्यालय हेटौंडा र नापी कार्यालय हेटौंडा एक हप्ताको लागि बन्द हुने भएको छ । धेरै भिडभाड बढेको र कोरोनाको जोखिम बढी हुँदा २ कार्यालयहरु एक हप्तासम्म बन्द हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।