अन्र्तराष्ट्रिय युवा दिवसमा बोल्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले युवाहरु फेरि आन्दोलनमा उत्रिनुपर्ने स्थिति सिर्जना हुन थालेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले मुलुक परिवर्तनका लागि फेरि पनि आन्दोलन आवश्यक देखिन थालेकाले अबका दिनमा युवाहरुको काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभयो ।

युवाहरुले पहिलेदेखि नै मुलकको परिवर्तनका लागि पटकपटक आन्दोलन गर्दै ठूलाठूला परिवर्तनमा सहभागिता जनाउँदै आएको बताउनुहुँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो, ‘अबको आन्दोलन केबल राजनीतिक आन्दोलनमात्र नभएर अब हामीले आर्थिक क्रान्ति, आर्थिक आन्दोलनका रुपमा यसलाई परिवर्तन गर्नुपर्छ र उक्त आन्दोलनमा हामी सबै लाग्नुपर्छ ।’ अहिले युवाहरुको लागि धेरै अवसरहरु भएपनि त्यसको सदुपयोग गर्न नसकेको उहाँको भनाई रहेको छ । सरकारले पनि युवाहरुलाई आफ्नै देशमा काम गर्नका लागि ठूलाठूला लगानीहरु गरिरहेको साथै प्रदेश सरकारले पनि राम्रा योजनाहरु ल्याएको उहाँले दावी गर्नुभयो ।

स्थानीय सरकारले समेत युवाहरुलाई विदेश जानबाट रोक्न तथा नेपालमै युवाहरुलाई उत्पादनमा जोड्ने विषयमा थुप्रै कार्यक्रमहरु ल्याएको पनि मुख्यमन्त्री पौडेलले भन्नुभयो । युवाहरुका लागि तीनै तहका सरकारले विभिन्न कार्यक्रम ल्याएपनि ती कार्यक्रमहरुलाई युवाहरुले पूर्णरुपमा प्रयोग गरेको अवस्था नभएको पनि उहाँले बताउनुभयो । यसका लागि युवाहरुले सर्वप्रथम देशमा केही पनि हुँदैन र विदेश नै जानुपर्छ भन्ने मानसिकताबाट मुक्त हुन जरुरी रहेको कुरा मुख्यमन्त्री पौडेलले व्यक्त गर्नुभयो । साथै उहाँले प्रदेश युवा परिषद्का सदस्यहरुलाई आ–आफ्नो जिल्लामा रहेका युवाहरुलाई आफ्नै स्थानमा स्वरोजगार बनाई विदेशमा पलायन हुनबाट रोक्न पनि निर्देशन दिनुभयो ।

प्रदेश युवा परिषद्को कार्यालय उद्घाटन
हेटौंडाः बागमती प्रदेशअन्तर्गतको प्रदेश युवा परिषद्को कार्यालय उद्घाटन भएको छ । बिहीबार बिहान एक कार्यक्रमको आयोजना गर्दै परिषद्ले कार्यालय उद्घाटन गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कार्यालयको उद्घाटन गर्नुभएको हो ।

कार्यालय उद्घाटनसँगै अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसरमा परिषद्ले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको पनि सुरुवात भएको छ । ‘खाद्य प्रणालीमा रुपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मुल नाराका साथ युवा दिवस मनाइन लागेको हो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् पहिलो कार्यक्रम परिषद्को कार्यालय उद्घाटन रहेको थियो । दोस्रो कार्यक्रमको रुपमा शुक्रबार २९ गते रक्तदान कार्यक्रम, ३० गते ५ किमि दौड, ३१ गते कोभिड–१९ संक्रमणको परिवेशमा बालबालिकालाई बालश्रमबाट जोगाउ विषयक तथा ३२ गते शिक्षाको लागि राष्ट्रिय अभियानको समन्वयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । यसैगरी भदौ १ गते वक्तृत्वकला कार्यक्रम तथा २ गते समापन कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा परिषद्का अध्यक्षसमेत रहनुभएका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतको विशेष आतिथ्यता रहेको थियो । यसैगरी कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री रामकुमार अधिकारी, संविधानसभा सदस्य अनन्त पौडेल, प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सामाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुंगेल, प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीलगायतको आतिथ्य रहेको थियो ।