नेपालमा १६ देखि ४० बर्ष उमेर समूहलाई युवाको परिभाषामा समेटिएको छ । हरेक बर्षको १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउने गरिन्छ । नेपालले सन् २००४ देखि यो दिवस मनाउन थालेको छ । दिवस त मनाइएको छ, तर किन भन्ने कुराको जवाफ युवाहरुलाई नै थाहा छैन । सरकार वा कुनै निकाय वा संस्थाले भनिदिएपछि युवा दिवस हुँदै आएको छ । तर युवा दिवस किन मनाउन थालियो, आवश्यकता के हो भन्ने भावार्थको खोजी भएको छैन । धेरै दिवसमध्ये अर्को दिवस पनि थपिएको मात्र देखिन्छ । अर्थमा जे भए पनि व्यवहारमा नेपाली युवाहरुको उमेर समूह नै छुट्टिएको छैन । पेसा, वर्ग, क्षेत्र र लिंगका आधारमा युवाको परिभाषा गरिनुपर्दछ ।
राजनीतिमा ४० नाघेपछि मात्र युवामा नेता बन्ने गरेको छ । युवा वा विद्यार्थी संगठनको नेतृत्वका लागि ४० वर्ष कटेको हुनुपर्दछ । राजनीतिक नेतृत्वका लागि ६० वर्ष पार भएपछि मात्र युवा नेतामा दर्ज हुने गरेको उदाहरण सबै दलहरुमा भेटिन्छन् । तर खाडीमा मजदुरी गर्न जानका लागि मात्र नेपाली युवाको परिभाषा मेल खाने गरेको छ । राजनीतिकरुपमा युवा समुदायका लागि ठूला सपना बाँड्ने गरिन्छ । तर जोसुकै सत्तामा पुगे पनि युवाको समस्या समाधान गर्नेतर्फ ठोस कदम चालेको पाइँदैन । यो उमेर समूहलाई राजनीतिकरुपमा दुरुपयोग गरेको छ भन्दा अन्यथा अर्थ लाग्दैन । सत्ता राजनीतिका लागि भर्याङ बन्नु नेपाली युवाको बाध्यता बन्दै आएको छ ।
नेपाल अविकासको अवस्थाबाट अघि बढिरहेको छ । तर नेपाली युवा पाखुरीले विश्वका धेरै देशलाई विकास अग्रस्थानमा पुर्याउने भूमिका निर्वाह गरेका छन् । रोजगारी सृजना गराई देश विकासमा यो जनशक्ति उपयोग गर्ने हो भने मात्र युवाको वास्तविक क्षमता देखिनेछ । विकास योजनाका लागि छिमेकी मुलुकबाट जनशक्ति ल्याउनुपरेको छ, तर नेपाली युवाशक्ति विदेशी भूमिमा रगत, पसिना बगाउन बाध्य छन् । युवा शक्तिलाई देशभित्रै व्यवस्थापन गर्न नसक्दाको दुर्गति नेपालले खेप्नपरेको छ । कुशल व्यवस्थापन नहुँदा युवाशक्तिको सही प्रयोग हुन सक्दैन । रोजगारविहीन युवाशक्ति अहिले कुलतमा फस्दै गएको अवस्था छ । सृजनामा लाग्नुपर्ने युवा मस्तिष्कलाई नशाले बिगार्दैछ । तर नारामा युवा छुट्दैनन्, व्यवहारमा उपयोग यही शक्ति उपेक्षित छ ।
युवा दिवस औपचारिकतामा मात्र सीमित हुँदै आएको छ । ठोस योजनासहित युवाहरुलाई स्वदेशमै रोजगार दिने, उनीहरुको योग्यताअनुसारको सीप विकास गराउने, दक्ष बनाउनेदेखि सृजनात्मक क्रियाकपालमा संलग्न हुने वातावरण बनाउनु आजको आवश्यक हो । नेपालमा युवाको क्षेत्रमा काम गर्ने संस्थाहरु अनगिन्ती छन् । तर युवासम्बन्धी नारामात्र बिक्री गर्दछन् । युवाको संख्या र अवस्था भजाउने र त्यसबाट आफ्नै लागि कार्यक्रम उत्पादन गर्ने गरेका धेरै उदाहरण छन् । युवा स्वयम् संलग्न हुने वा उनीहरुको जीविकोपार्जनका लागि आवश्यक योजना बनाउने प्रयास भने अलपत्ररुपमा नै छ । देश विकासको अभियानको अगुवा बनाउने, राजनीतिदेखि प्रशासनिक नेतृत्वमा भूमिका प्रभावकारी बनाउन युवा स्वयम् पनि सृजनशील र सक्रिय हुनुपर्दछ ।











