सहयोग हस्तान्तरण गरिँदै ।

हेटौंडाः बलात्कारपछि हत्या गरेको आशंका गरिएको पूर्वी मकवानपुरकी मृतक ४ वर्षीया बालिकाको परिवारलाई नगद र खाद्यान्न सहयोग गरिएको छ । आर्थिकरुपमा विपन्न रहेको स्वर्गीय रुविना पाख्रिनको परिवारलाई सहयोगीहरुबाट प्राप्त नगद ३१ हजार ५० रुपैयाँ र खाद्यान्न सहयोग गरिएको हो ।

जसमध्ये जगत टिभीबाट संकलित २१ हजार ५० रुपैयाँ र बागमती प्रदेशकी निवर्तमान प्रदेश प्रमुख एवम् माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाबाट प्राप्त १० हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो । हाल जापानमा रहेका मकवानपुरकी चेलीहरु शर्मिला लामा र प्रिया ब्लोनबाट ५ बोरा चामल, तेल १ कार्टुन र मसला तथा अनुराधा कोइरालाबाट प्राप्त एक बोरा चामल, नुन, तेल, चना प्रदान गरिएको थियो ।

नगद सहयोग गर्नेमा जापानमै रहेका नेपालको पहिलो स्याटेलाइट निर्माता हरिश श्रेष्ठबाट ३ हजार, पोखराकी सुशीला श्रेष्ठबाट ३ हजार, मकवानपुरगढीकी गोमा लामाबाट २ हजार ५ सय साथै हेटौंडाकी रश्मी बस्नेत, फापरबारीका भीम परियार, बुढीचौर घर भई हाल दक्षिण कोरियामा रहेका गिरिजा न्यौपानेबाट जनही २ हजारसहित १३ जनाले सहयोग गरेका थिए ।

बागमती गाउँपालिका–७, लामिटारस्थित रुविनाको घरमा पुगेर आमा सीतामाया पाख्रिन र बुबा शेरबहादुर पाख्रिनलाई नगद र खाद्यान्न सहयोग गरिएको हो । माइती नेपालकी मकवानपुर कार्यक्रम संयोजक माया लामा, मन लामा र जगत टिभीका सञ्चालक अशोकसुजन श्रेष्ठले नगद र खाद्यान्न हस्तान्तरण गरेका थिए ।

झण्डै ८ महिनाअघि मंसिर ३ गते साँझ रुविनाको रगतले लतपतिएको नग्न अवस्थामा शव भेटिएपछि बलात्कार र हत्या भएको अनुमान गरिएको थियो । रुविनाको बलात्कार र हत्या गरेको आरोपमा आफन्त नाता पर्ने स्थानीय एक किशोरमाथि मकवानपुर जिल्ला अदालतमा मुद्दा चलिरहेको बताइएको छ । यसअघि रुविनाको परिवारलाई बागमती गाउँपालिकाबाट ५० हजार, पाख्रिन समाज चितवनबाट ५५ हजार, गाउँलेहरुबाट ३५ हजार, मञ्जुश्री असहाय संरक्षण केन्द्र मकवानपुरबाट १५ हजार रुपैयाँ लगायतले आर्थिक सहयोग गरेको परिवारले जनाएको छ । आफ्नो खेतमा उत्पादित अन्नले छ महिनामात्र खान पुग्ने भएको र ज्याला मजदुरी गर्नुपर्ने अवस्था रहेकाले सहयोग गरिएको बताइएको छ ।