हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडा र मकवानपुरका चार गाउँपालिकाबीच निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ । चार गाउँपालिकाका बासिन्दालाई निःशुल्क रगत वितरण गर्ने गरी सम्झौता भएको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले बताउनुभयो ।
बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिका र मनहरी गाउँपालिकासँग रक्तसञ्चार केन्द्र हेटौंडाले गरेको सम्झौतामा गाउँपालिकाका बिरामीलाई निःशुल्क रगत वितरण गर्नेगरी सम्झौता भएको हो ।
सम्झौतामा गाउँपालिकाबाट रगतको अभाव भएर आउने सबै बिरामीलाई रगत दिने र बिरामीलाई वितरण गरिएको रगतको पैसा गाउँपालिकाले दिने रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख दाहालले जानकारी दिनुभयो । मकवानपुरका यी चार गाउँपालिकाबाहेकका ६ स्थानीय तहका बासिन्दाले भने रक्तसञ्चार केन्द्रलाई प्रतियुनिट रगतको ८ सय ५० रुपैयाँमा तिर्नुपर्ने उहाँले बताउनुुभयो ।
बकैया गाउँपालिकाले दोस्रो पटक यो सम्झौता गरेको हो । अघिल्लो वर्ष पनि बकैया गाउँपाकिलाले आफ्नो पालिकाका बासिन्दालाई रगत निःशुल्क उपलब्ध गराएको थियो । यसैगरी हेटौंडा उपमहानगरपालिकाले पनि यो वर्ष निःशुल्क रगत उपलब्ध गराउने गरी सम्झौता गरेको प्रमुख दाहालले बताउनुभयो । उपमहानगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने कार्यविधि तयार गरिरहेको खबर प्राप्त भएको उहाँको भनाई छ ।