हेटौंडाः मकवानपुर जिल्लामा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पछिल्ला २ वर्षमा दर्ता भएको २ सय ८६ वटा आत्महत्याको घटनामा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विष खाएर, आगो लगाएर, झुण्डिएर, हाम फालेर, करेण्ट लगाएर, हातहतियार औजारबाट र पानीमा हामफालेर (डुबेर) मानिसहरुले आत्महत्या गर्ने गरेका छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा जिल्लामा १ सय ४१ जनाले आत्महत्या गरेका छन् । जसमध्ये सबैभन्दा बढी ९२ जनाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ । झुण्डिएर आत्महत्या गर्नेमा ५७ जना पुरुष, २६ जना महिला, ४ जना बालक र ५ जना बालिका छन् । यस्तै, विष खाएर ४८ जनाले आत्महत्या गरेका छन् । विष सेवन गरेर आत्महत्या गर्नेमा २३ जना पुरुष, २३ जना महिला, एक जना बालक र एक जना बालिका रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । उक्त आर्थिक वर्ष पानीमा हाम फालेर (डुबेर) एक जना महिलाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा १ सय ४५ वटा आत्महत्याको घटना दर्ता भएका थिए । जसमा ८५ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने विष सेवन गरेर ६० जनाले आत्महत्या गरेका हुन् ।
विभिन्न तरिकाबाट मानिसले आत्महत्या गरेजस्तै आत्महत्या गर्ने कारण पनि फरकफरक हुने गरेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिनुभयो । हरेक व्यक्तिका आ–आफ्नै स्वभाव हुने भएकाले आत्महत्या गर्ने कारण पनि फरक फरक हुने उहाँले बताउनुभयो । परिस्थितिजन्य र मानसिक वा भावनात्मक कारणले मानिसले आत्महत्याका बाटो रोज्ने गरेको रिमालले बताउनुभयो ।
मानिस किन आफ्नो जीवन आफैं हत्या गर्ने आँट गर्छन् भन्ने धेरैमा जिज्ञासा हुने गरेको छ । कुनै कुरा बुझ्ने वा महसुस गर्नसक्ने क्षमता सबै मानिसमा समान हुन सक्दैन । जीवनमा आइपर्ने दुःख, पीडा र डिप्रेशनजस्ता निराशाजनक अवस्थाले तत्काल आवेगमा आएर मानिसले आत्महत्याको निर्णय गर्ने गरेको अनुसन्धानले देखाएको छ । पीडाबाट मुक्त हुने कुनै विकल्प नदेखेपछि मानिसले आत्महत्याको बाटो राज्ने गरेको पाइएको छ ।
आत्महत्या गर्नुअघि धेरैजसो मानिसले आत्महत्या सम्बन्धमा कुरा गर्ने, त्यसको बारेमा लेख्ने गर्छन् । ती व्यक्तिहरु आत्महत्या गर्नका लागि प्रयोग गरिने साधनतिर बढी आकर्षित हुन्छन् । कुन चीजद्वारा सजिलै मर्न सकिन्छ भन्ने कुराको योजना बनाइरहेका हुन्छन् ।
परिवारको लागि आफू गएपछि पर्नसक्ने अप्ठ्यारो तथा समस्याप्रति सकेसम्म व्यवस्था मिलाउन खोजिरहेका हुन्छन् । एक्लै बस्न रुचाउने र दुःखी हुनेजस्ता व्यवहार देखाउँछन् । जसले आफूप्रति घृणाको भाव देखाउन थाल्छन् र पछिल्लो अवस्थामा अचानक खुसी र शान्त देखिन थाल्छन् । यसले जुन व्यक्ति मर्नका लागि पूरै योजना बनाइसक्यो र अब उसले आफ्नो जीवन समाप्त गर्दैछ भन्ने कुरा बुझ्न सकिन्छ ।
सबैभन्दा बढी १५ देखि ३५ वर्षसम्मका व्यक्तिले आत्महत्या गरेको अनुसन्धान तथा अध्ययनले देखाएको छ । आत्माहत्या रोकथाम गर्न अहिलेको परिवेशमा जरुरी देखिन्छ । अहिले विश्वभर कोरोना भाइरसको संक्रमणको जोखिम छ । धेरै मानिसले आफ्नो रोजगारी तथा आम्दानी गुमाएका छन् । यस्तो समयमा मानिसहरु बढी आत्महत्याका बाटो रोज्नसक्ने तथ्यलाई मध्यनजर गरी रोकथाम गरिनु आवश्यक छ ।
सामान्यतयाः मानिस मर्न चाहँदैन । उसले महसुस गरेको पीडा र समस्याबाट मुक्त हुने अन्तिम विकल्पको रुपमा रोजेको एउटा बाटो हो– आत्महत्या । यो अवस्थामा पुगेका व्यक्तिलाई उसको पीडा सुनिदिएर केही मानसिक राहत दिँदै छिटोभन्दा छिटो मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग दिलाउनु आवश्यक हुन्छ । उनीहरुको सल्लाहबमोजिम उपचार गराउनुका साथै फलोअपमा लैजानुपर्छ । यसबाहेक उसलाई खानपानमा हेरचाह गर्ने, शारीरिक क्रियाकलापतिर विस्तारविस्तार अग्रसर गराउने, एक्लै हुन नदिनेजस्ता कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ ।
आत्महत्याको सबभन्दा ठूलो कारक तत्व भनेको डिप्रेशन भएकाले डिप्रेशनको औषधी खाइरहेका छन् वा मात्रा परिवर्तन गरिएको छ भने उक्त व्यक्तिलाई विशेष ध्यान दिनुपर्दछ । आत्महत्या आफैंमा एउटा जटिल समस्या भए पनि यसलाई न्यूनीकरण गर्न सकिन्छ । त्यसका लागि एक व्यक्ति वा संस्थाले मात्र न्यूनीकरण गर्न सकिँदैन । त्यसैले नीति तथा कानुन निर्माण र कार्यान्वय गर्ने निकायदेखि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार यस्ता जटिल समस्या न्यूनीकरणका लागि तत्काल अघि बढ्नु आवश्यक छ ।