कुनै पनि कुराको अति भएपछि खती हुन्छ भन्ने पुरानो भनाई नै छ । नेपालमा कोरोनाको संक्रमण वृद्धिमा यही भनाई कार्यान्वयन भएको देखिन्छ । विश्व स्वास्थ्य संगठन, महामारी विज्ञ, नेपाल सरकार, स्वास्थ्य मन्त्रालयदेखि सबैले नै कोरोना महामारी बढ्नसक्छ भन्दै होशियारी अपनाउन गरेको आग्रहलाई सर्वसाधारणले सुनुवाई गरिरहेका छैनन् । यस्तै जिम्मेवार निकाय र व्यक्ति तथा संगठनहरुले समेत कोरोना महामारीलाई सामन्यरुपमा लिन थालेका छन् । स्वास्थ्य सावधानी अर्काका लागि मात्र ठान्दा महामारी फेरि बढ्दै गएको छ । मकवानपुरमा साउन २४ गतेसम्मका लागि निषेधाज्ञा जारी छ । सम्पूर्ण सामाजिक जीवन खुला भए पनि निषेधाज्ञ नाममात्रको भएको छ । प्रशासनले समेत कडाईका साथ पालना गराउनेतर्फ ध्यान दिएको छैन ।
कोरोना महामारीजस्ताको तस्तै छ तर राजनीतिक फेरबदलका कारण नागरिकहरु सडकमा संगठितरुपमा नै देखिन थालेका छन् । सत्ता स्वार्थका लागि विरोध र समर्थनका नाममा युवा कार्यकर्तालाई दलहरुबाटै सडकमा जान निर्देशन वा प्रेरित गर्दा महामारी नियन्त्रणबाहिर नजाला भन्न सकिँदैन । महामारीका बेलामा एकअर्कोलाई चुनौती दिने नाममा ज्यानकै चुनौती सामना गर्नुपर्ने देखिँदैछ । दल र तिनका भातृसंस्थाहरु जिम्मेवार नबन्ने हो भने महामारी फेरि घरघरमा पुग्नेछ । त्यसपछि दोस्रो लहरमा भोग्नुपरेको दुर्दशा फेरि आफ्नै कारणले निम्तनेछ । दोस्रो लहरका लागि दलहरुका सडक प्रदर्शनलाई मुख्य कारक मानिएको थियो । अब पनि समाज त्यही बाटोमा जाँदैछ ।
हेटौंडामा पनि निषेधाज्ञा हटेको छैन । निषेधाज्ञाको अवधिमा सभा, जुलुस, गोष्ठी, रंगशालामा प्रदर्शनमा प्रतिबन्ध लागेको छ । तर हेटौंडामै पछिल्लो समय दैनिक पार्टीका भेला र जुलुस भइरहेका छन् । जसले गर्दा प्रशासनले लगाएको निषेधाज्ञाको औचित्यमाथि प्रश्न उठाइरहेको छ । केही दिन पहिला एमालेको भातृसंस्थाहरु सडकमा थिए भने पछिल्लो समय नेत्रविक्रम चन्द समर्थकहरुले सकडमा नाराबाजी गर्दै कोणसभासमेत गरेका छन् । प्रशासन कार्यालयले यो कामका लागि अनुमति दिएको हो ? हैन भने किन प्रतिक्रिया छैन ? दलहरुको विरोध प्रदर्शन संविधानप्रदत्त अधिकार हो । तर जीवनरक्षा भन्दा अर्को कुनै अधिकार हुन सक्दैन । त्यसैले महामारीबाट बच्न स्वास्थ्य मापदण्डको पालना गर्नु र गराउनु नै पर्दछ ।
देशमा भएका कुनै घटनाहरुको विरोध वा समर्थन स्वभाविक हो । त्यसका लागि वातावरण अनुकूल हुन आवश्यक छ । कोरोना महामारीका बीच प्रदर्शन नगरी नहुने विषय हुन् वा होइनन् भन्ने हेक्का सरोकारवाला पक्षले राख्नुपर्दछ । स्वास्थ्यका मापदण्डको पूर्ण उपेक्षा गर्दै गरिने भेला, प्रदर्शन र आमसभाले कोरोना कुन गतिमा फैलन सक्छ भन्ने आँकलन गर्न आवश्यक छ । दलहरुका पछिल्ला गतिविधिप्रति नागरिक भने चिन्तित बनेका छन् । समाजको अगुवा वर्ग राजनीतिक कार्यकर्ता नै कोरोना फैलाउने माध्यम बन्दासमेत दलहरुबाट रोक्ने प्रयास भएका छैनन् । बरु उपल्लो तहकै नेताहरु सभामा सहभागी हुँदै कार्यकर्तालाई महामारी फैलाउने काममा हौशला दिइरहेका छन् । अब अति भए खती हुने नै छ । होशियारी अपनाऔं ।