सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुर जिल्लामा कोभिड–१९ को संक्रिय संक्रमितको संख्या १ हजार ७९ पुगेको छ । मंगलबारसम्म जिल्लामा १ हजार बढी सक्रिय संक्रमित भएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो ।

मंगलबार जिल्लामा ८९ जनामा कोरोना पुष्टि भएको छ । उनीहरुमध्ये १४ जना संस्थागत आइसोलसनमा बसेका छन् भने अन्य होम आइसोलेसनमा बसेका छन् । हालसम्म जिल्लामा योसहित १३ हजार ५ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । उनीहरुमध्ये मंगलबार २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हालसम्म जिल्लामा कोभिड संक्रमणको कारण १ सय ४५ जनाले ज्यान गुमाएका छन् ।

मंगलबार एक सय ३३ जनाको स्वाब नमूनाको पीसीआर परीक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि भएको थियो । यस्तै ३ सय ६२ जनाको ऐन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । हेटौंडा उपमहानगरपालिमा ७२ जनामा कोरोना पुष्टि भएको हो । हेटौंडा उपमहानगरपालिकामा मात्रै हालसम्म ८ हजार ९ सय ४९ जनामा संक्रमण पुष्टि भइसेको छ । हेटौंडामा ५ सय २७ जना संक्रिय संक्रमित रहेका छन् ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी भएमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने प्रावधान भएपनि हेटौंडामा ५ सय बढी संक्रमितको संख्या पुग्दासमेत उपमहानगरले र प्रशासनले कडाई गर्न सकेको छैन । प्रहरीले भिडभाड हुने बजार क्षेत्रमा समेत कुनै कडाई गर्नसकेको छैन । सवारी साधन र बजार व्यवस्थापनको भिडभाड नियन्त्रण गर्न प्रशासन कमजोर बनेको छ ।

मंगलबार मकवानपुरगढीमा २, थाहामा ४, कैलाशमा १, मनहरीमा ४, भीमफेदीमा २, बकैयामा ३ र राक्सिराङमा १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले विवरण सार्वजनिक गरेको छ ।