हेटौंडाः हेटौंडा–४ मा रहेको नवोदय शिशु सदनमा नवोदय मोडेल युनाइटेड नेशनल (एनमुन) कार्यक्रम आयोजना हुने भएको छ । गतवर्षबाट सुरु भएको नवोदय मुन कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिन लागिएको सोमबार पत्रकार सम्मलेनको आयोजना गरी जानकारी दिइएको छ ।
भर्चुअल विधिबाट नवोदय सामाजिक क्लबको आयोजनामा नवोदय मुन कार्यक्रम यही साउन २०, २१ र २२ गते हुनेछ । संयुक्त राष्ट्रसंघको अवधारणाअनुरुप कार्यक्रम हुनेछ । तीन दिनसम्म कार्यक्रम सञ्चालन हुनेछ ।
कार्यक्रमको संयोजक भूपेन्द्रप्रताप सिंहले भने– ‘कार्यक्रमले बालबालिकाको नेतृत्व विकास, विश्वका तत्कालीन स्थिति तथा जल्दोबल्दो घटना, समस्या र त्यस विषयमा राष्ट्रहरुको भूमिका, समस्या समाधान र छलफलको प्रक्रियासँग बालबालिकालाई परिचित गराउन, नौलो वातावरणमा निर्धक्करुपमा आफ्ना भनाइहरु राख्न, संयुक्त राष्ट्रसंघको परिषदहरु तथा कार्यको व्यवहारिक ज्ञानको विषयमा छलफल हुनेछ ।’ नवोदय मुनमा ६ वटा कमिटी तथा समितिहरु निर्माण गरी छलफल गरिनेछ ।
कार्यक्रममा नवोदय विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीहरु र बुटवलमा रहेको एपेक्स विद्यालय र जनकपुरमा रहेको मोनास्टिक विद्यालयका ११ जना विद्यार्थी गरी कूल १ सय २० जना विद्यार्थीहरुले सहभागिता जनाउने क्लबले जानकारी दिएको छ ।