हेटौंडाः हेटौंडा राइडर्स क्लबको आयोजनामा हेटौंडा कोरा च्यालेन्ज सम्पन्न भएको छ । क्लबले शनिबार हेटौंडा कोराको आयोजना गर्दै ५० किलोमिटर दुरी साइकलबाट यात्रा गरिएको जनाएको छ ।
हेटौंडा राइडर्स क्लबका अध्यक्ष विकास ताम्राकारको सभाध्यक्षतामा भएको कार्यक्रममा ५० जनाभन्दा बढी साइकलयात्रीहरु सहभागी भएका थिए । हेटौंडाको भूटनदेवी मन्दिरबाट सुरु भएको साइकल यात्रा बुद्धचोकबाट चौकीटोल, बनस्खण्डी मन्दिर, सानोपोखरा, पिप्ले हुँदै चौघडा, चुच्चेखोला, राजदेवी, दोभानचौर, एक्लेखेत, हर्नामाडी, हटिया भएर कमाने, औद्योगिक क्षेत्रबाट कर्रा हुँदै पुनः बुद्धचोकमा आएर कार्यक्रम समापन भएको हो ।
उक्त रुटमा ५० किलोमिटर दुरी बिहान ७ बजेबाट सुरु गरेर दिउँसो साढे २ बजे पार गरिएको क्लबका अध्यक्ष ताम्राकारले जानकारी दिनुभयो । बिगत ४ वर्षदेखि साउन महिनामा आयोजना हुने हेटौंडा कोरामा हेटौंडामा रहेका मठमन्दिरहरुको परिक्रमा गर्ने चलन रहेको छ ।