हेटौंडाः रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई तालिम प्रदान गरेको छ । उक्त बिमा कम्पनीको बारा जिल्लाको निजगढस्थित शाखाले शनिबार हेटौंडामा एक दिवसीय कार्यक्रमको आयोजना गर्दै अभिकर्ताहरुका लागि तालिम प्रदान गरेको हो ।
निजगढ शाखाका प्रमुख प्रकाश लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा २ नं. प्रदेशका क्षेत्रीय प्रमुख त्रिलोकी दासको प्रमुख आतिथ्यता रहेको थियो । २ नं. प्रदेशका बारा, पर्सा, रौतहट तथा बागमती प्रदेशका मकवानपुर र चितवन जिल्लाका अभिकर्ताहरुलाई लक्षित गरेर तालिमको आयोजना भएको थियो । कार्यक्रममा सभाध्यक्ष लामिछानेले बिमा कम्पनीका बारेमा जानकारी गराउनुहुँदै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको स्थापना कालदेखि हालसम्मको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
देशमा रहेका १९ वटा जीवन बिमा कम्पनीमध्ये रिलायबल नेपाल गत आर्थिक वर्ष २०७७/०७८ मा ५ औं श्रेणीमा रहेको जानकारी गराउनुहुँदै उहाँले नेपालका उत्कृष्ट जीवन बिमा कम्पनीमध्येको एक कम्पनी रहेको बताउनुभयो । यस्तै गत आर्थिक वर्षमा सर्वाधिक व्यवसाय विस्तार गर्ने जीवन बिमा कम्पनी बन्न सफल भएको पनि उहाँले जानकारी दिनुभयो । साथै जीवन बिमा कम्पनीले संकलन गरेको रकमलाई लगानी क्षेत्र र यसबाट बिमा गर्ने व्यक्ति ढुक्क भएर बस्न सक्ने पनि लामिछानेले भन्नुभयो ।
कम्पनीको २ नं. प्रदेशका क्षेत्रीय प्रमुख त्रिलोकी दासले देशभरमा रहेका १ सय ५ वटा शाखाहरुका १ हजार ६ सय जनाभन्दा बढी अभिकर्ता कार्यरत रहेको जानकारी दिनुभएको छ । उहाँले रिलायबल लाइफले प्रदान गर्ने बिमा योजनाहरु, यसका सुबिधाहरुका प्रकार, शर्तहरु, बिमामा समावेश गरिएका ऐच्छिक सुविधाहरु, बिमाका फाइदा, विशेषतालगायतका विषयमा जानकारी गराउनुभयो । साथै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले छिट्टै नै आईपीओ खुल्ला गर्ने भएको छ । आगामी दशैसम्ममा यस बिमा कम्पनीले आम नागरिकलाई आईपीओमार्फत् जोड्ने योजना रहेको उहाँले बताउनुभयो । यसबाट आम नागरिकहरुलाई बिमा कम्पनीसँग अझै नजिक बनाएर सुबिधा प्रदान गर्न सहज हुने उहाँको भनाई रहेको छ ।
कार्यक्रममा निजगढ शाखामा रहेर अभिकर्ताको रुपमा काम गरिरहेकाहरुलाई पनि सम्मान गरिएको छ । निजगढ शाखा कार्यालयले गत आर्थिक वर्षमा सबैभन्दा बढी बिमा गराउने, एजेन्ट म्यानेजर, बिमाको लक्षित आँकडा पूरा गर्ने अभिकर्ताहरुलाई समेत सम्मान गरेको थियो ।